युक्रेनका संवेदनशील पूर्वाधारमा रुसी क्षेप्यास्त्र आक्रमण



संवेदनशील पूर्वाधारहरूमा निशाना बनाउँदै रुसले ५० वटाभन्दा बढी क्षेप्यास्त्र प्रहार गर्दा देशभरि बिजुली तथा पानीको आपूर्ति नराम्ररी प्रभावित भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

राजधानी किएभका ८० प्रतिशत बासिन्दा खानेपानीको पहुँचबाट अलग भएको र ३ लाख ५० हजार अपार्टमेन्टमा विद्युत् आपूर्ति बन्द भएको मेयर भिटाली क्लित्स्कोले बताएका छन् । उत्तर पूर्वी सहर खार्किभमा पनि विद्युत् प्रणालीमा आक्रमण भएको छ ।


रुसले लामो दूरीमा लक्ष्य भेदन गर्न सक्ने आफ्नो अस्त्रले युक्रेनको सैन्य इलाका र ऊर्जा प्रणालीलाई निशाना बनाएको बताएको छ । मस्कोस्थित रक्षा मन्त्रालयले तोकिएका सबै लक्ष्यहरूमा प्रहार भएको दाबी गरेको छ ।

युक्रेनको हवाई प्रतिरक्षा प्रणालीले ५० वटा क्रुज क्षेप्यास्त्रमध्ये ४४ वटा खसालिदिएको त्यहाँको वायुसेनाले जनाएको छ । युक्रेनका प्रहरी प्रमुखले रुसी आक्रमणमा १३ जना घाइते भएको जानकारी दिए पनि हताहत भए वा नभएकोबारे कुनै विवरण आएका छैनन् ।

यसअघि रुसले गाभेको क्राइमियास्थित ब्ल्याक सी क्षेत्रमा आफ्ना पानीजहाजहरूमाथि ड्रोन हमला गरेको आरोप युक्रेनमाथि लगाएलगत्तै रुसले आक्रमण चर्काएको हो ।

किएभका मेयर भिटाली क्लित्स्कोले सहर नजिकैको ऊर्जा केन्द्रमा रुसी आक्रमणबाट क्षति भएका कारण पानीको अभाव भएको बताए ।

उनका अनुसार आंशिक रूपमा पानीको आपूर्ति पुनः सुरु गर्न तीनदेखि चार घण्टासम्म लाग्न सक्छ । अवरुद्ध विद्युत् आपूर्ति पुनः सुरु गर्न इन्जिनियरहरूलाई तत्कालै परिचालन गरिएको मेयरले बताएका छन्।