चितवन । जिल्लामा कात्तिक १८ गतेदेखि मतदाता शिक्षा कार्यक्रम घरदैलोमा गरिने भएको छ । मतदाता शिक्षा जिल्लास्तरीय समितिको आज यहाँ सम्पन्न बैठकले मतदाता शिक्षा कार्यक्रमलाई समुदायस्तरमा लैजाने निर्णय गरेको हो । बैठकले मङ्सिर १ गतेसम्म स्थानीय तहका सबै वडामा एकै साथ घरदैलो कार्यक्रमको व्यवस्था मिलाउन मतदाता शिक्षा सञ्चालक समितिलाई आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ ।
मतदाता शिक्षासम्बन्धी सम्पूर्ण सरोकारवालासँग समन्वय गर्दै स्थानीय तहले आयोगको अनुमतिमा विभिन्न सङ्घसंस्था र निकायबाट सञ्चालन गर्ने मतदाता शिक्षासम्बन्धी घरदैलो, घुम्ती टोली कार्यक्रमको समन्वय, सहजीकरण र अनुगमन गर्नेछ । जिल्लामा प्राप्त शिक्षा सामग्री सरोकारवालालाई उपलब्ध गराई मतदाता शिक्षासम्बन्धी अध्ययन, अनुसन्धानलाई आवश्यक सहयोग र समन्वय गर्ने बैठकले निर्णय गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।
समितिको संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बैठक बसेको थियो । मतदाता शिक्षाका लागि जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति रहेको छ भने पालिकामा प्रमुख प्रशासकीय अधिकृत र वडा तहमा वडा सचिवको संयोजकत्वमा समिति रहने व्यवस्था छ ।