संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा युक्रेनसँग भइरहेको खाद्यान्न सम्झौतामा रूसले आफ्नो सहभागितालाई स्थगन गरेको रूसी रक्षा मन्त्रालयको भनाइ उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
रूस र युक्रेनबीच युद्ध चर्किरहेका बेला शनिबार क्रिमियामा युक्रेनी ड्रोन आक्रमण भएपछि रूसले उक्त सम्झौता अनिश्चितकालका लागि स्थगन गरेको हो । संयुक्त राष्ट्रसङ्घका लागि रूसी प्रतिनिधि दिमित्री पोल्यान्स्कीले एक ट्वीटमा भनेका छन्, “रूसी सैन्य जहाजमाथि युक्रेनी ड्रोन आक्रमणको प्रयासपछि खाद्यान्न सम्झौता सुरक्षित रूपमा सञ्चालन गर्नुपर्नेे सुनिश्चितता गरिएको छ ।”
उनले भने, “संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसलाई यसबारे चाँडै नै आधिकारिक रूपमा सूचित गरिनेछ ।”
संयुक्त राष्ट्रसङ्घ र टर्कीसँग रूस र युक्रेनबीच भएको खाद्यान्न सम्झौताले ‘ब्ल्याक सी’का तीन वटा बन्दरगाहमा अड्किएका दुई करोड २० लाख युक्रेनी खाद्यान्न निर्यातका लागि मार्ग प्रशस्त गरेको छ ।
भोकमरीको आसन्न खतराको सामना गरिरहेका विश्वका गरिब राष्ट्रका लाखौं मानिसहरूले यो अतिआवश्यक मात्रामा खाद्यान्न बजारमा पुग्ने र खाद्यान्नको मूल्य फेरि एकपटक किफायती हुन सक्ने समाचार सुनेर राहतको सास फेरेका समय रूसको यो निर्णय आएको हो ।
यद्यपि, दुई देश (रूस र युक्रेन) बीचको तनाव बढेकाले रूसको यो निर्णयले विश्वको दुःखलाई अझ बढाउनेछ ।
युक्रेनविरूद्धको रूसी आक्रमणपछि मस्कोले ‘ब्ल्याक सी’मा रहेका बन्दरगाहहरूमा नाकाबन्दी गरेको थियो भने युक्रेनले पनि रुसी आक्रमण रोक्न ब्ल्याक सी क्षेत्रमा आक्रमण गरेको थियो ।
रूसी आक्रमणसँगै युक्रेनी अनाज निर्यात गर्न प्रयोग गरिने बन्दरगाहहरू व्यावसायिक ढुवानीको लागि अवरुद्ध गरिएको थियो र युक्रेन एक प्रमुख अनाज निर्यातकर्ता भएकोले विश्वभर आवश्यक वस्तुको मूल्य वृद्धि भएको थियो ।
तीव्र भोकमरीको सामना गरिरहेका लाखौं गरीब मानिसहरूका लागि ब्ल्याक सी क्षेत्रमा खाद्यान्न निर्यातमा गरिएको अवरोधले खाद्यान्न अभाव भएको छ ।
युक्रेन र रूस दुवै विश्वमा खाद्यान्नको सबैभन्दा ठूलो निर्यातकर्ता हुन् । नाकाबन्दीका कारण विश्वभर खाद्यान्नको मूल्य बढेको छ । रूस र युक्रेनबीच खाद्यान्नलाई निर्यात गर्ने सम्बनधमा भएको यो सम्झौता अर्को महिनादेखि सकिँदै छ ।
यसैबीच शनिबार युक्रेन र रूसबीच भएको युद्धबन्दी आदानप्रदान अन्तर्गत १०० भन्दा बढी युद्धबन्दीलाई रिहा गरिएको छ । युक्रेनको राजधानीमा रूसी आक्रमणका कारण उत्पन्न विद्युत् कटौती यस सप्ताह अन्तमा पनि जारी रहेको सीएनएनले जनाएको छ ।