भैरहवा । लायन्स क्लब अफ लिगेसीको आयोजनामा यही कात्तिक १७ गतेदेखि भैरहवामा १० दिने ‘प्रथम सिद्धार्थनगर सांस्कृतिक मेला २०७९’ आयोजना हुने भएको छ । स्थानीय, राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका कलाकारको सहभागिता रहने मेलामा ‘डान्स आइडल प्रतियोगिता’समेत आयोजना हुने छ ।
भैरहवाको हनुमान मन्दिरमा कात्तिक १७ गतेदेखि २७ गतेसम्म आयोजना हुने मेलामा व्यावसायिक, कृषि, बाल उद्यान, होटल तथा रेष्टुराँ गरी ५० बढी प्रदर्शनीकक्ष रहने आयोजक संस्थाका अध्यक्ष रविकान्त उपाध्यायले जानकारी दिए ।
कार्यक्रममा स्थानीय कलाकारसँगै राष्ट्रियरूपमा ख्याति कमाएका ज्योति मगर, प्रिती आले, हेमन्त शर्मा, दुर्गेश थापा, प्रकाश सपूत, कर्णराज गिरी, प्रिती पासवान, बबिता धिताललगायतले पनि प्रस्तुति दिने उपाध्यायले जानकारी दिए । यस्तै भारतका कलाकार रितेश पाण्डे, समर सिंह, शिल्पीराजलगायत पनि मेलामा आउने उनले बताए ।
सामाजिकरूपमा काम गरिरहेको लायन्स क्लब अफ लिगेसीले सेवाको उद्देश्यले मेलाको आयोजना गरिएको आयोजकले जानकारी दिए । रु २५ लाख खर्च अनुमान गरिएको कार्यक्रमबाट जोगिएको रकमबाट अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा अनाथ क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई सहयोग गर्ने उद्देश्य रहेको कार्यक्रम संयोजक राजन शुक्लले बताए ।
उनले डान्स आइडलमा प्रथम हुनेलाई रु ३० हजार पाँच सय ५५, द्वितीय हुनेलाई रु १५ हजार पाँच सय ५५, तृतीयलाई रु १० हजार पाँच सय ५५ र रु पाँच हजार पाँच सय ५५ को सान्त्वाना पुरस्कार प्रदान गर्ने जानकारी दिए । यस्तै मेलाको अन्तिम दुई दिन कुस्ती प्रतियोगिताको पनि आयोजना गर्ने उनले जानकारी दिए । कार्यक्रमको प्रवेश शुल्क विद्यार्थीका लागि रु ५० र अन्यका लागि रु ७० तोकिएको छ ।
कोभिडको मारका कारण लामो समयदेखि मनोरञ्जात्मक कार्यक्रम नभएको अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुतिले यस क्षेत्रमा मनोरञ्जन दिने उद्देश्य पनि रहेको लायन्स इन्टरनेशनल–३२५ ‘पी’ का कोषाध्यक्ष विनोद खरेलले बताए ।
‘मेरो क्लब बलियो क्लब’ भन्ने नारासहित भर्खर स्थापना भएको लायन्स क्लब अफ लिगेसीले आयोजना गर्न लागेको मेलाको प्रयास सराहनीय रहेको लायन्स इन्टरनेशनल–३२५ ‘पी’ का एरिया चिफ सङ्गम न्यौपानेले बताए । उनले सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको क्लबले आगामी दिनमा पनि रचनात्मक कार्य गर्न सुझाव दिए ।