पाेखरा । चितवन भरतपुरका श्रीकृष्ण पुडासैनी पाँच जना साथीसहित लुम्बिनी हुँदै शुक्रवार साँझ पोखरा आइपुगे । चार दिने भ्रमणमा निस्केका उनीहरू स्कुल पढ्दाका साथीहरू हुन् । अहिले उनीहरू देशका विभिन्न कलेजमा पढ्दै छन् ।
तिहार र छठ पर्वमा लामो बिदा हुँदा सबै साथी भरतपुरस्थित घरमा जम्मा भएपछि लुम्बिनी हुँदै पोखरा घुम्ने प्याकेज बनाएको पुडासैनी बताउँछन् । काठमाडौँको माइतीघरस्थित सेन्टजेबियर्स कलेजमा ‘एमएस्सी फिजिक्स फोर सेमेष्टर’मा अध्ययनरत पुडासैनी अरू पाँच साथी लिएर पोखरा घुम्न आएका हुन् । पर्यटकीय सहर पोखराका रमणीय स्थल अवलोकन गर्नका लागि भरतपुरबाट लुम्बिनी हुँदै पोखरा घुम्न आएका ती विद्यार्थीले शनिवार बिहानैदेखि पोखराका पर्यटकीय स्थल पुम्दीभुम्दीको शान्ति स्तूप, शिव महादेव मन्दिर, फेवातालको मध्य भागमा रहेको बाराही मन्दिरको अवलोकन गरिसकेको छन् । आइतबार केही स्थलको अवलोकन गर्दै फर्कने तयारीमा उनीहरू छन् ।
शुक्रवार साँझ पोखराको लेक साइड आएका ती विद्यार्थीले होटलको कोठासमेत पाउन मुस्किल पर्यो । लेक साइड भरि खोज्यौँ सबै प्याक भइसकेको खबर होटल सञ्चालकहरूले सुनाए । “राति ९ः३० बजे मात्र न्यू दर्शन होटलमा सुत्ने कोठा पाइयो”, विद्यार्थी मध्यका एक मनिष पौडेलले भने, “पोखरा यति बेला आन्तरिक र भारतीय पर्यटकले भरिएको रहेछ ।”
भक्तपुरबाट पारिवारिक भ्रमणमा निस्केको २१ जनाको समूह गोरखाको मनकामना हुँदै पोखराका धार्मिक तथा पर्यटकीय स्थल घुम्न आएको छ । उक्त समूहकी एक सदस्य जगनदेवी साहुखल शनिवार दिउँसो फेवातालमा डुङ्गाको पालो कुर्दै थिइन् । डुङ्गाबाट फेवातारको मध्य भागमा अवस्थित बाराही देवीको दर्शन गर्न जानकै लागि त्यो समूहले डुङ्गाको टिकट काटेको थियो तर पर्यटक भरिभराउ भएकै कारण उनीसहितको समूहले डुङ्गा चढ्नका लागि १ घण्टाको समय पर्खनुपर्यो । टिकट काटेको एक घण्टापछि मात्र फेवातालको मध्य भागमा रहेको बाराही मन्दिर दर्शन गर्न जानका लागि पालो पाएको उनीहरू बताउँछन् ।
काभ्रेको पनौतीबाट पोखरा घुम्न आएका कपिलमणि हुमागार्इंसहित छ जनाको समूह काठमाडौँ हुँदै पोखरा घुम्न आएको छ । पोखरा पर्यटकीय र रमणीय स्थल भएका कारण पोखरा रोजेर घुम्न आएको र यहाँको फेवाताल तथा अन्य मनमोहक दृश्यले आनन्द दिलाएको बताउँदै उनले भने, “पोखरा त साचिँकै पोखरा नै रहेछ ।”
डुङ्गा व्यवसायी चन्द्रकुमारी विश्वकर्माले दसैँमा वर्षात्का कारण आन्तरिक पर्यटक आउन नसकेको र तिहार र छटपर्वमा एकै पटक लामो बिदा भएकै कारण आन्तरिक पर्यटकको चाप फेवातालमा पनि परेको बताए । फेवातालमा डुङ्गा चढ्ने पर्यटक दुई दिनदेखि खचाखच भएको विश्वकर्मा बताउँछन् । डुङ्गा व्यवसायी यति बेला व्यस्त छन् । प्रति पर्यटक डुङ्गा चढी मन्दिर पुगेर फर्केको ६० रुपैयाँ र लाइफ ज्याकेटको प्रतिगोटा १० रुपैयाँ लिने गरिन्छ ।
पर्यटकको भीड बढे पनि डुङ्गा शुल्कमा वृद्धि नगरिएको जानकारी फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीले जानकारी दिए । होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले लामो बिदा भएकै कारण केही मात्रामा आन्तरिक पर्यटकमा वृद्धि भएको र सरकारी बिदा सकिएपछि पर्यटक घट्ने बताए । अधिकांश आन्तरिक पर्यटकको पहिलो रोजाइ पोखरा भएकाले पनि पोखरामा बिदाको समयमा आन्तरिक पर्यटक बढ्नु स्वभाविक भएको सुवेदी बताउँछन् । भारतीय पर्यटकको हकमा मुक्तिनाथ दर्शनका लागि जान पोखरा हुँदै आउने गरेको र उनीहरू मुक्तिनाथ जाँदा एक रात र फर्कँदा एक रात मात्र पोखरामा बास बस्ने हुँदा उनीहरूको बसाइँ पोखरामा दुईदेखि तीन दिनको बनाउन जरुरी भएको सुवेदीको भनाइ छ । पोखरामा पाँच सय बढी पर्यटकीय होटल रहेको र एक दिनमा ३० हजारको सङ्ख्यामा पर्यटक सुत्न सक्ने कोठा रहेको जानकारी होटल व्यवसायीले दिएका छन् ।