इयूले सन् २०३५ देखि डिजल र पेट्रोलबाट चल्ने कारमाथि प्रतिबन्ध लगाउने



युरोपेली सङ्घ (ईयू) ले सन् २०३५ देखि डिजल र पेट्रोलबाट चल्ने कारमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ ।

ईयूले जलवायु परिवर्तनको अवस्थालाई कम गर्नका लागि भन्दै डिजल र पेट्रोलबाट चल्ने कारमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।


अहिलेदेखि नै विद्युतीय कारको प्रयोग बढाउँदै सन् २०३५ देखि पेट्रोलियम कारलाई प्रभावकारीरूपमा प्रतिबन्ध लगाउने कुरामा युरोपेली देश एकमत भएका छन् ।

नयाँ कानुनको मस्यौदा तयार गर्ने युरोपेली आयोग, कानुन पारित गर्ने युरोपियन संसद् र कार निर्माता कम्पनीहरू पनि २०३५ देखि डिजल तथा पेट्रोल कार प्रतिबन्धमा सहमत भएका छन् ।

यो सहमतिले यूरोप शून्य कार्बन उत्सर्जनमा केन्द्रित रहेको कुरा पुष्टि भएको ईयू जलवायु नीति प्रमुख फ्रान्स टिम्मरम्यानले बताएका छन् ।

ईयूले पारित गरेको सहमतिअनुसार अब युरोपियन युनियनले सन् २०३५ देखि बिक्री हुने कारबाट कार्बनडाइअक्साइडको मात्रा शून्य गर्नका लागि आवश्यक कानुनको मस्यौदा बनाउनेछ ।