संयुक्त राष्ट्रसङ्घको एउटा अध्ययन प्रतिवेदनले विश्व तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रयासका लागि विश्वसनीय मार्गचित्र नदेखिएको जनाएको छ ।
वैज्ञानिकहरूले चाहिँ तापमान वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि पुगेको अवस्थामा विश्वभरिका मानिसमा खतरनाक प्रभाव पर्ने ठानेका छन् ।
राष्ट्रसङ्घको प्रतिवेदनले गत वर्ष ब्रिटेनको ग्लासकोमा आयोजित कोप–२६ नाम दिइएको जलवायु सम्मेलनयता कार्बन उत्सर्जन कटौती गर्ने विभिन्न देशका सरकारहरूको योजना दुःखद रूपमा अपर्याप्त रहेको जनाएको छ ।
समाजको तत्काल रूपान्तरणले मात्रै विपद्बाट जोगाउन सक्ने प्रतिवेदनमा उल्लेख छ। कोप २७ नाम दिइएको अर्को जलवायु सम्मेलन आगामी साता इजिप्टमा सुरु हुँदैछ ।
गत वर्ष ग्लास्गोमा जलवायुसम्बन्धी कूटनीतिज्ञहरूको बैठकयता विश्वको ध्यान अन्यत्रै मोडिए पनि यो साताबाट जलवायु परिवर्तनका समस्याबारेका विवरणहरूमाथि चर्चा सुरु भएको छ ।
गत वर्ष ग्लास्गोमा जलवायुसम्बन्धी कूटनीतिज्ञहरूको बैठकयता विश्वको ध्यान अन्यत्रै मोडिए पनि यो साताबाट जलवायु परिवर्तनका समस्याबारेका विवरणहरूमाथि चर्चा सुरु भएको छ ।
संयुक्त राष्ट्रसङ्घले बिहीबार सार्वजनिक गरेको उत्सर्जन अन्तरसम्बन्धी अध्ययनले वैज्ञानिक र कूटनीतिज्ञहरूको निराशालाई प्रतिविम्बित गरेको छ ।
विगत १३ वर्षयता गरिँदै आइएको अध्ययनले प्रतिबद्धता र वास्तविकताको अन्तरबारे विश्लेषण गर्ने गरेको छ ।
यो विश्लेषणले कार्बन कटौती गर्ने नयाँ प्रयासहरूका कारण सन् २०३० सम्म विश्वव्यापी उत्सर्जन १ प्रतिशतभन्दा भन्दा थोरै मात्रै कम हुनेछ । तर वैज्ञानिकहरूका अनुसार १ दशमलव ५ डिग्री सेल्सियसको लक्ष्य भेट्नका लागि उत्सर्जन ४५ प्रतिशतसम्म घटाउनुपर्छ ।
अहिलेकै नीतिहरूका आधारमा तापमानको प्रभाव मूल्याङ्कन गर्दै प्रतिवेदनले यो शताब्दीमा विश्वको तापक्रम २ दशमलव ८ डिग्री सेल्सियसले बढ्ने आकलन गरेको छ ।
यदि राष्ट्रहरूले आर्थिक सहायता पाउने हो र तयार गरिएका योजनाहरू कार्यान्वयन गर्ने हो भने यसलाई २ दशमलव ४ डिग्री सेल्सियसमा सीमित गर्न सकिने उल्लेख छ।