बलेवा। बागलुङको बडिगाड–१ की जमुना श्रीषले १० रोपनी बारीमा उन्नत जातको मकै लाउने गर्छन्। उनको यस वर्ष घरमा खान पुगेर दुइचार क्विन्टल जोगाउने योजना छ । यहाँकै गनबहादुर सुनारले चार हलको मेलोमा मकै लगाउन थालेको बताए । मनकामना जातको मकैबाट यो वर्ष खान पुगेर तीनचार मुरी संकलन केन्द्रमा पठाउने लक्ष्य उनले बताएका छन् । दगातुम्डाँडा कृषि सहकारी संस्थामार्फत किसानलाई उन्नत बीउ वितरण भएको थियो । उक्त बीउबाट उत्पादित मकै सहकारीमार्फत बेचेर किसानलाई आम्दानी दिने योजना सहकारीका अध्यक्ष भीमसेन वनले जानकारी दिए ।
यसरी जोगाएको मकै गाउँमा बनेको भण्डारण केन्द्रमा संकलन गर्न थालिएको छ । भण्डारण केन्द्रमा राखेर बजार पठाउने गरी यो वर्ष यहाँ भवन बनेको छ । मकै बजारमा बीउको रुपमा बिक्री गर्ने लक्ष्यले भवन निर्माण बनाइएको हो । किसानले नगदै संकलन गरेर छ लाख पुर्याएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ३० लाख लगानी गरेको हो । स्थानीयले खोजेको दुई रोपनी दुई आना जमिनमा परियोजनाको ३० लाख बजेट विनियोजन भएपछि भन्डारा केन्द्र बनाइएको वनले बताए । उक्त भण्डारण केन्द्रमा २२ टन मकैको बीउ सुरक्षित गर्न सकिने व्यवस्था छ । दगातुम्डाँडा कृषि सहकारी संस्थाका दुई सय बढी किसानले व्यावसायिकरुपमा मकैखेती गर्दै आएका छन् ।