काठमाडौँ । निर्वाचन आयोगले पूर्वमन्त्री एवं मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार एकीकृत समाजवादीका विरोध खतिवडालाई स्पष्टीकरण सोधेको छ ।
विद्यार्थीहरूलाई पैसा बाँडेको भन्ने समाचार प्रकाशित भएको आधारमा खतिवडासहित मकवानपुर २ प्रदेशसभा (२) का उम्मेदवार कांग्रेसका इन्द्रबहादुर बानियाँलाई २४ घण्टे स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
खतिवडा र बानियाँले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने मनहरी क्याम्पसका विद्यार्थीहरूलाई भ्रमणका लागि अग्रिम सहयोग रकम जनही १५ हजार रुपैयाँ उपलब्ध गराएको विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि आयोगले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको हो ।
आयोगले पत्रमा निर्वाचन आचारसंहिता, २०७९ को परिच्छेद २ को दफा ४ (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ स्मरण गराएको छ ।