काठमाडौँ उपत्यकामा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने



काठमाडौँ । काठमाडौँ उपत्यकामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले सार्वजनिक सूचना जारी गरेर राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाउने जनाएका हुन्।


काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार उपत्यकामा पटाका लगायतका प्रज्वलनशील बस्तु पड्काउन निषेध गरिएको छ । आतिसबाजी गर्न र पटाका नपड्काउन सवैमा जानकारी गराउने र सूचना अवज्ञा गरेमा कडा कारबाही गरिने निर्णय गरिएको छ । दियो र मैनबत्ती बाल्दा सचेतना अपनाउन आग्रह गरिएकाे छ । सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरेर हिँड्न पनि निषेध गरिएको छ ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेर आ-आफ्नो जिल्लागत वस्तुस्थिति र सुरक्षा अवस्था हेरेर देउसी र भैलो कार्यक्रम गर्न समयसीमा राख्ने/नराख्नेबारे निर्णय गर्न भनेको थियो। सोही अनुसार जिल्ला प्रशासन कार्यालयले समयसीमा तोकेका हुन्।