चितवन । ‘छाइल’ उपन्यासका लेखक लोकराज भट्टलाई यस वर्षको कविडाँडा राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । चितवनको कविडाँडा साहित्य समाजले सो पुरस्कार डोटीका उपन्यासकार भट्टलाई प्रदान गरेको हो ।
समाजका कार्यवाहक अध्यक्ष उदय अधिकारीले आज आयोजित कार्यक्रममा नगद २५ हजार एक सय ६० रुपैयाँ राशिको पुरस्कार भट्टलाई प्रदान गरिएको जानकारी दिए । यो पुरस्कारबाट अहिलेसम्म चार जना आख्यानकार सम्मानित भइसकेका छन् ।
आगामी वर्षदेखि यो पुरस्कारको राशि एक लाख २५ हजार बनाइने कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए । आख्यानको क्षेत्रमा यो पुरस्कार नेपालकै सबैभन्दा धेरै धनराशिको हुने उनको भनाइ छ । आख्यान क्षेत्रका नयाँ लेखकलाई प्रोत्साहित गर्न पुरस्कार दिने व्यवस्था गरिएको साहित्यकार क्षेत्रीले बताए ।
कार्यक्रममा साहित्यकार तथा समालोचक उदय अधिकारीको नयाँ पुस्तक ‘लिटल भोल्कानो’ सार्वजनिक गरिएको छ । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका प्राध्यापक तथा कवि डा हरिहर पौडेलले सो पुस्तक सार्वजनिक गरेका हुन् । अङ्ग्रेजी तथा नेपालीमा लेख्ने अनुवादक तथा साहित्यकार महेश पौडेलसँग गरिएको लामो अन्तरवार्ता पुस्तकमा समावेश गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी विभागमा प्राध्यापनसमेत गर्ने पौडेल नयाँ अनुहार र युवा पुस्तामा चर्चित व्यक्तित्व भएकोले आफूलाई मन परेर उहाँलाई पुस्तकमा समावेश गरिएको लेखक अधिकारीले बताए । कविडाँडा साहित्य समाजका कार्यवाहक अध्यक्ष रहनुभएका अधिकारीको यो दोस्रो पुस्तक हो । अङ्ग्रेजीमा लेखिएको यो पुस्तकमा ८० पृष्ठ रहेको छ भने यो पुस्तकलाई बीएन प्रकाशनले प्रकाशित गरेको हो ।