क्यापिटल हिलमा भएको हिंसाबारे बयान दिन ट्रम्पलाई संसदीय समितिले बोलायो



गतवर्ष अमेरिकी संसद् भवन क्यापिटल हिलमा भएको दङ्गाको अनुसन्धान गरिरहेको एउटा संसदीय समितिले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई सांसदहरूसमक्ष बयान दिनेगरी उपस्थित हुन आदेश दिएको छ ।

समितिले कुनै अमेरिकी राष्ट्रपतिले निर्वाचन उल्ट्याउन गरेको पहिलो र एकमात्र प्रयासको केन्द्रमा तपाईँ रहेको भन्दै उपस्थित हुन आदेश दिएको छ । ट्रम्पका एक वकिलले समितिका सदस्यहरूलाई मापदण्डहरू उल्लङ्घन गरेको आरोप लगाएका छन् ।


पूर्वराष्ट्रपति ट्रम्पले छानबिनको आलोचना गर्दै आफूलाई दिइएको आदेशलाई डेमोक्रेटिक पार्टीकोे शासनको आपतबाट मतदाताको ध्यान अन्यत्र मोड्ने चालको सङ्ज्ञा दिएका छन्। अर्को महिना अमेरिकामा मध्यावधि निर्वाचन हुन लागेको छ ।

संसद्मा उपस्थित हुन दिइएको आदेशको पालना नगरे ट्रम्पले फौजदारी अभियोग खेप्नुपर्ने हुनसक्छ । ट्रम्पलाई जनवरी ६ कमिटी भनेर चिनिने उक्त समितिमा नोभेम्बर ४ भित्र दस्तावेजहरू बुझाउन र नोभेम्बर १४ को दिन वा त्यसको आसपास बयान दिन उपस्थित हुनैपर्ने भनिएको छ ।

यदि ट्रम्पले कङ्ग्रेससामु बयान दिन वा माग गरिएका सामग्रीहरू बुझाउन अस्वीकार गरेमा समितिले उक्त विषय न्याय मन्त्रालयमा पठाउन सक्छ । त्यसो भयो भने उनीविरुद्ध फौजदारी कारबाही प्रक्रिया सुरु हुनसक्छ ।

कङ्ग्रेसको मानहानी गरेको आरोपमा ट्रम्पका एक पूर्वरणनीतिकार स्टीभ ब्याननलाई ६ हजार ५०० अमेरिकी डलर जरिवाना र चार महिनाको जेल सजाय सुनाइएको केही घण्टापछि ट्रम्पलाई बयान दिन उपस्थित हुन पत्र जारी गरिएको हो ।

ब्याननले कङ्ग्रेसमा बयान दिन वा दस्तावेजजहरू उपलब्ध गराउन नमानेपछि उनलाई कारबाही गरिएको थियो।