कीभले रुसले दक्षिणी खेरसन क्षेत्रमा एक जलविद्युत बाँध भत्काउने योजना बनाएको आरोप लगाएको छ । युक्रेनी सैनिकहरू निरन्तर अघि बढिरहेका छन् र मस्को–स्थापित अधिकारीहरूले उद्धार सुरु गरेका छन् । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनाले काखोभका जलविद्युत् आयोजनालाई विस्फोट गराउने उद्देश्यले उत्खनन गरेको बताएका छन् ।
जेलेन्स्कीले बिहीबार युरोपेली नेताहरूलाई दिएको सम्बोधनमा तल्लो निप्रो नदीवरपरका लाखौं मानिसहरू बाढीको जोखिममा पर्ने चेतावनी दिएका छन् । दक्षिणमा पानीको आपूर्ति कटौती गर्दा युरोपको सबैभन्दा ठूलो जापोरिजिया आणविक ऊर्जा संयन्त्रको चिस्यान प्रणालीमा पनि असर पर्न सक्ने उनले बताए ।
सन् २०१४ देखि रूसले कब्जा गरेको क्रिमियालाई महत्वपूर्ण पानी आपूर्ति गर्ने उत्तरी क्रिमियाली नहर पनि नष्ट हुन सक्छ । जेलेन्स्कीका सल्लाहकार माइखाइलो पोडोल्याकका अनुसार रुसको लक्ष्य यस क्षेत्रमा युक्रेनी आक्रमण रोक्नु र रुसी सेनाको सुरक्षा गर्नु हो ।