लजको कोठाभित्र पाहुनाहरूको गोप्य रूपमा भिडियो रेकर्ड गर्ने पक्राउ



काठमाडौँ । प्रहरीले होटलको कोठामा गोप्य क्यामेरा राखेर अश्लिल भिडियो खिचेको आरोपमा काठमाडौंमा होटलका म्यानेजरलाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौंको बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एण्ड लजका म्यानेजर चन्द्रागिरि घर भएका ४२ वर्षका मुकेश मालीलाई पक्राउ गरेको हो ।


मालीले लजमा बस्न आउने पाहुनाहरुको गोप्य रुपमा अश्लिल भिडियो रेकर्ड गर्ने गरेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त महाराजगञ्जबाट टोली खटिएको टोलीले होटलमा पुगेर उनको मोबाइल जाँच गर्दा मोबाइलमा होटलमा बसेका विभिन्न व्यक्तिहरुको भिडियो फेला पारेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथमा रहेको आइफोन १२ प्रो म्याक्स पनि बरामद गरेको छ । मालीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।