निर्वाचनमा प्रतिगामी शक्तिलाई निस्तेज पार्नुपर्छः भट्टराई



काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनैपनि हालतमा सह्य नहुने चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौंमा वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले विगतमा पराजित भएका प्रतिगामी शक्तिहरु अहिले विभिन्न बहानामा जुर्मुराइरहेको भन्दै लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने बताए ।


अध्यक्ष भट्टराईले अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा भएको जिकिर गरे । उनले आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरुलाई निस्तेज पार्नुको कुनै विकल्प नभएको बताए ।

उनले देशमा विकास र समृद्धि, सुशासन दिन नसक्दा युवाहरुमा निराशा छाएको भन्दै शीर्ष तहले यसको उचित सम्बोधन गर्न जरुरी रहेको बताए । अध्यक्ष भट्टराईले आगामी निर्वाचन गठबन्धन दललाई कुनैपनि हालतमा जिताउनै पर्ने भन्दै देशका लागि आगामी ५ वर्ष स्थिरता र असन्तोषलाई पूरा गर्ने समय भएको बताए ।

उनले विगतका कमजोरीलाई आत्मसाथ गरेर अघि बढ्न आवश्यक रहेको बताए । उनले नेकपा एमालेप्रति लक्षित गर्दै केशरजंग रायमाझी धार बोकेका शक्तिहरुले पुराना सामन्तवादी शक्तिहरुसँग मिलेर नयाँ ढंगले प्रतिगमनको तानामाना बुनिरहेको बताए ।