दुई सय मिटर दौडमा शिवराज र निशालाई स्वर्ण



गण्डकी । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स दुई सय मिटर दौडमा सशस्त्र प्रहरी बल (एपिएफ)का शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितेका छन् ।

पोखरा रङ्गशालामा आज सम्पन्न दौडमा पुरुषतर्फ शिवराजले निर्धारित दूरी २१.९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । एपिएफकै आशिष चौधरीले २२.०५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत पदक हात पारे भने त्रिभुवन आर्मी क्लबका युवराज विकले २२.५० सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते ।


महिलातर्फ लुम्बिनीकी निशाले २५.२४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते । एपीएफकी रमिताकुमारी थारूले २५.९५ सेकेन्डमा पूरा गर्दै रजत र पुलिसकी लक्ष्मी साउदले २६.५२ सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते ।

त्यस्तै एथलेटिक्सअन्तर्गत पाँच हजार मिटर दौडमा एपीएफका गोपिचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् । दौडमा निर्धारित दूरी १४ मिनेट २९.६७ सेकेन्डमा पूरा गर्दै उनले स्वर्ण पदक हात पारेका हुन्  ।

यसअघि १० हजार मिटर दौडमा गोपीचन्द्रले रजत पदक जितेका थिए । कर्णालीका दुर्गाबहादुर बुढाले १४ मिनेट २९.९३ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत पदक जिते  भने त्रिभुवन आर्मीका मुकेश पालले निर्धारित दूरी १४ मिनेट ३६.६० सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते ।