असोज महिनामा कालिका मन्दिरमा ३५ लाख भेटी संकलन



बलेवा  । बागलुङ भगवती गुठी व्यवस्थापन समितिले असोज महिनाभरि कालिका मन्दिरमा चढेको भेटी सार्वजनिक गरेको छ । गुठी व्यवस्थापन समितिले मंगलबार पत्रकार सम्मेलन गरी असोज महिनाभर कालिका मन्दिरमा  ३५ लाख ३७ हजार ८ सय ४९ रूपैयाँ भेटी संकलन भएको जानकारी दिइएको छ । आम्दानीबाट गुठीले विभिन्न शीर्षकमा १९ लाख ४० हजार ६ सय ६० रूपैयाँ खर्च भएको जनाएको छ । 

गुठीका अध्यक्ष कुमार खड्काले दिएको जानकारी अनुसार तलबका लागि ५ लाख २ हजार रूपैयाँ, बिद्युत महसुलमा १८ हजार रूपैयाँ अतिथि सत्कारमा  १४ हजार रूपैयाँ, आर्थिक दान  १० हजार रूपैयाँ , पूर्वाधार निर्माणमा  १२ लाख ८  हजार रूपैयाँ, खाद्यान्न तथा आवासमा  ४४ हजार ५ सय रूपैयाँ, मर्मत सम्हारमा १४ हजार ७ सय ४३ रूपैयाँ तथा सांस्कृतिक कार्यक्रममा १ लाख २२ हजार ५ सय रूपैयाँ खर्च भएको छ । अन्य खर्चमा  ६ हजार रूपैयाँ देखाइएको छ । 


आम्दानीतर्फ भेटीमा मात्रै  १९ लाख २२ हजार रूपैयाँ संकलन भएको हो भने चामल बिक्रिबाट  ८५ हजार रूपैयाँ, बोकाको टाउकोबाट रु दुई लाख १३ हजार, कुखुराबाट  १७ हजार रूपैयाँ, राँगोबाट ५ हजार ८ सय र घरभाडाबाट ३  लाख ८२ हजार रूपैयाँ संकलन भएको हो । विवाह गरेको १३ हजार रूपैयाँ, आर्थिक सहयोगबाट १ लाख ७६ हजार रूपैयाँ तथा परेवाबाट ६ लाख ७६ हजार रूपैयाँ संकलन भएको बताइएको छ । 

असोज महिनाभरमा भक्तजनले चाँदीको औंठी एक थान, चाँदीको सिक्का एक थान, चाँदीकै घोडा एक थान र सुनको टीका दुई थान भेटी चढाएका थिए । त्यस्तै चाँदीको पाउजु दुई जोर, सुनको मुन्द्रा एक वटा, सुनको तिलहरी एक तथा सुनको टुक्रा एक र चाँदीको ताज एकवटा अन्दाजी पाँच तोलाको चढाएको जानकारी गराइएको छ ।