काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आफूले हसिँया हथौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गर्दै काँग्रेसका नेता, कार्यकर्ताले पनि त्यसै गर्ने बताए ।
मंगलबार ललितपुरमा आयोजित सत्तारुढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्रीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनले अत्याधिक बहुमत ल्याउने गरी मतदान गर्न पनि आम मतदातालाई आग्रह गरे । सत्तारुढ गठबन्धनले अत्याधिक बहुमत ल्याए मुलुकमा स्थायी शान्ति, स्थायी लोकतन्त्र र गणतन्त्रले पनि स्थायित्व पाउने उनको भनाई थियो ।
प्रधानमन्त्री देउवाले सत्तारुढ दलका नेताहरुले सरकारलाई सहयोग गरेको भन्दै धन्यवाद समेत दिए । उनले संसद दुई पटक भंग गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने काम गरेको तर आफूहरुले त्यसलाई जोगाएको बताए । प्रधानमन्त्री देउवाले मुलुक विजुली बेचेर सम्पन्न बनाउने गरी भारतसँग विजुली खरिद सम्झौता गर्न आफू नेतृत्वको गठबन्धन सरकार सफल भएको दावी समेत गरे ।
उनले भने,‘ओलीजीले २ पटक भंग गरिदिनु भयो पार्लियामेन्ट । जनताले चुनेको संसद मनपरी ढंगले भंग गर्न थालेको हुनाले नै संविधान बनाउँदा खेरी कुनै पनि हालतमा भंग गर्न नपाउने संविधानमै व्यवस्था गरेका छौं । त्यसकारण यो यो अवस्थामा बाहेक संविधान भंग गर्न नै नपाईने व्यवस्था थियो । राति २ बजे राष्ट्रपतिलाई उठाएर भंग गरिदिए हेर्नुस् न संसद । बिहानै गरे हुन्थ्यो । बिहान ६÷७ बजेतिर गर्दा पनि हुन्थ्यो । त्यस्तो किसिमको एउटा लहडमा सदन भंग गर्न थालेपछि त हामीले यो संसद बचाउन आवश्यक थियो । अहिले ठिक टाईममा चुनाव हुँदैछ अब । चुनाव हुने मिति भर्खर हुँदैछ, उहाँले २ वर्ष अघि नै संसद भंग गरिदिनु भयो ।’
प्रधानमन्त्री देउवाले नेपालको संविधान राम्रो भएको उल्लेख गर्दै सोही अनुसार अघि बढ्नुको विकल्प नरहेको पनि बताए ।