काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनका लागि आफ्नै पार्टीका प्रभावशाली नेताहरुले टिकट नपाउनुको कारण गठबन्धन रहेको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले सत्तारुढ गठबन्धनका नेताहरुलाई मिलाएर देशलाई विकासको दिशामा अग्रसर बनाउनुपर्ने भएकाले पनि पार्टी भित्रका केही प्रभावशाली नेताहरुलाई आगामी निर्वाचनका लागि टिकट दिन नसकिएको बताएका हुन् ।
उनले गठबन्धनलाई मिलाउनुपर्ने कारणले पनि आगामी निर्वाचनमा नेपाली काँग्रेसबाट धेरै ठाउँमा उम्मेदवार नरहेको बताए । उनले आगामी गठबन्धन सरकार पनि नेपाली काँग्रेसको नेतृत्वमा बन्ने उल्लेख गर्दै लोकतन्त्रलाई संस्थागत गर्ने, संविधानमा भएका व्यवस्थाहरुलाई कार्यान्वयन गर्ने, लोकतान्त्रिक संस्कृतिलाई जीवन पद्धति बनाउने नै नेपाली काँग्रेस पार्टीको लक्ष्य भएको बताए ।
प्रवक्ता महतले आगामी गठबन्धन सरकारले लोकतान्त्रिक मूल्य र मान्यता, कानूनी शासनको आधारसिलामा रहेर देशमा समृद्धि सिर्जना गर्ने, हरेक नागरिकलाई कुनैपनि वर्ग, समूह, क्षेत्र, समृद्धिको प्रकाशबाट कोही पनि वञ्चित हुन नदिने ग्यारेन्टी लिने बताए ।
उनले गठबन्धन सरकारले आगामी निर्वाचन जितेको खण्डमा कुनैपनि नेपाली नागरिक आर्थिक अभावका कारण शिक्षा र स्वास्थ्यको आधारभुत अधिकारबाट वञिचत हुन नदिने प्रतिवद्धता जनाए । महतले देशभित्र नै रोजगारी सिर्जना गर्ने, लगानी वृद्धि गर्ने र उद्योगमैत्री वातावरण सिर्जना गर्ने र वातावरणमैत्री अर्थतन्त्रलाई अघि बढाइ देशमा रहेको ठूलो व्यापार घाटालाई कम गर्ने बताए । प्रवक्ता महतले पार्टीमा अहिले सबै पक्षहरु सन्तुष्ट रहेको दाबी गर्दै अहिले सहमतिमा नै निर्वाचनमा गठबन्धन जिताउनका लागि लागिपरेको बताए ।