कोइलाखानीमा विस्फोट हुँदा टर्कीमा २५ जनाको मृत्यु



उत्तरी टर्कीको बार्टिन प्रान्तमा एउटा कोइला खानीमा विस्फोट हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

विस्फोटको समयमा खानीमा करिब ११० जना कामदार काम गरिरहेका थिए। जसमध्ये आधा भन्दा धेरै मानिसहरू खानीभित्र ३०० मिटरको गहिराइमा थिए । टर्कीका स्वास्थ्य मन्त्रीले ११ जनाको उद्धार गरिएको र उनीहरूको अस्पतालमा उपचार भइरहेको बताएका छन् ।


आपतकालिन उद्धारकर्ताहरूले थप मानिसहरूलाई जीवितै उद्धार गर्न सकिने आशामा चट्टान फोरेर खानीभित्र जाने प्रयास गरिरहेका छन् ।

ब्ल्याक सीको तटीय क्षेत्रमा पर्ने अमासरा स्थित खानीबाट उद्धारकर्मीहरूले विस्फोटका कारण पुरै कालोले ढाकिएका मानिसहरूलाई खानीबाट निकाल्दै गरेका भिडियोहरू सार्वजनिक भएका छन् ।

खानीमा हराइरहेकाहरूका आफन्तहरू पनि उद्धारको पर्खाइमा बसिरहेका देखिन्छन् । टर्कीका आन्तरिक मामिला मन्त्री सुलेमान सोयलुका अनुसार खानीको ३०० देखि ३५० मिटर गहिरो जोखिमपूर्ण क्षेत्रमा ४९ जना कामदारहरू खटिएका थिए ।

विस्फोटको कारण अझैसम्म थाहा हुन सकेको छैन र अधिकारीहरूले यसबारे अनुसन्धान सुरु गरेको जनाएका छन् ।

टर्कीका ऊर्जामन्त्रीले घटनाको प्रारम्भिक सङ्केतहरूबाट कोइला खानीमा निस्कने प्राकृतिक मिथेन ग्यासका कारण विस्फोट भएको हुनसक्ने देखिएको बताएका छन् ।