डडेलधुरामा काँग्रेस(विपी)का मल्ललाई नसघाउने एमालेको घोषणा



काठमाडाैँ । नेकपा एमालेले  नेपाली कांग्रेस (विपी)सँग गरेको चुनावी तालमेल भङ्ग गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै एमाले जिल्ला कमिटी डडेल्धुराको पूर्ण बैठकले तालमेल भङ्ग गरी एकलरुपमा निर्वाचनमा होमिने निर्णय गरेको जानकारी दिएकाे हाे ।

नेपाली कांग्रेस (विपी)ले तालमेलको सहमति उल्लङ्घन गरी डडेल्धुरा जिल्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको एमालेको आरोप छ ।


एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनलाई परास्त गर्न डडेल्धुरा जिल्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रतिनिधि सभामा नेपाली कांग्रेस (विपी) र प्रदेश सभा अन्तर्गत १ र २ निर्वाचन क्षेत्रमा हाम्रो पार्टीका उम्मेदवारले चुनावी तालमेल गरी निर्वाचनमा होमिने सहमति भएकोमा कांग्रेस (विपी) ले उक्त सहमति उल्लङ्घन गरी प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गर्ने कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

नेकपा (एमाले) ले डडेल्धुरा जिल्लाका प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा पठान सिंह बोहरा र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा गजेन्द्र बहादुर शाहीलाई मत दिन अपिल गरेको छ ।