काठमाडौँ । भारती खरेल स्मृति पुरस्कार तीन स्रष्टा र समाजसेवीलाई प्रदान गरिने भएको छ । भारती खरेल प्रतिष्ठानले विगत तीन वर्षदेखि रोकिएको उक्त पुरस्कार आगामी मङ्सिरमा मुलुकका मर्थन्य स्रष्टा र समाजसेवीलाई दिइने घोषणा गरेको हो ।
प्रतिष्ठानको आज बसेको बैठकले विसं २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः वरिष्ठ गीतकार किरण खरेल, माइती नेपालका संस्थापक अनुराधा कोइराला र वरिष्ठ समालोचक वासुदेव त्रिपाठीलाई दिइने निर्णय गरेको सदस्य सचिव प्रयागराज भट्टराई वाशिष्ठले जानकारी दिए । पुरस्कारको राशि नगद रु ५१ हजारसहित सम्मानपत्र रहेको छ ।
विसं २०७७ देखि स्थगित भएको यो पुरस्कार कोभिड–१९ का कारण तीन वर्षदेखि स्थगित थियो । भक्तिमती एवं विशिष्ट साहित्य साधिका स्व. भारती खरेलको ८५औँ जयन्तीका अवसरमा उक्त पुरस्कार वितरण गर्न लागिएको सचिव वाशिष्ठले बताए ।
स्व. भारती खरेलको स्मृतिमा वरिष्ठ समाजसेवी चन्द्रिकानन्द खरेल (पति), वरिष्ठ गायक दीपक खरेल (छोरा) लगायतले स्थापना गरेको प्रतिष्ठानले हरेक वर्ष मङ्सिर १६ गते एक समारोहकाबीच पुरस्कृत गर्दै आएको छ ।
विसं २०४९ मा स्थापना भएको प्रतिष्ठानले साहित्य साधिका तथा भक्तिमती भारती खरेलको जन्म जयन्तीको अवसरमा साहित्य, समाजसेवा, भक्तिलगायत विभिन्न क्षेत्रमा आबद्ध विशिष्ठ व्यक्ति एवं संस्थालाई पुरस्कृत गर्दै आएको छ ।
विसं २०४९ मा भारती खरेल प्रतिष्ठान स्थापना भएदेखि प्रदान गर्न सुरु गरिएको यस पुरस्कार स्वामी प्रपन्नाचार्य, दयारवीर सिंह कंसकार, भीमबहादुर अधिकारी, साहित्यकार एवं समाजसेवी भद्रकुमारी घलेलगायत व्यक्ति र स्वर्गद्वारी आश्रम, जाउलाखेल सत्संग परिवार, अद्वैत संस्था, महेश गुरुकूल सन्याश्रमलगायत संस्थालाई प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।