एकल सिफारिस हुँदा पनि ओलीले टिकट नदिनु अन्यायपूर्ण : भीम रावल



काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले एकल सिफारिस हुँदा पनि उम्मेदवार नबनाएकोमा आक्रोश व्यक्त गरेका छन् । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी रावलले अध्यक्ष ओलीले अन्यायपूर्ण, स्वेच्छाचारी निर्णय गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले अछाम १ बाट एमालेका निम्ति कुनै योगदान नगरेको र सिफारिस नै नगरेको व्यक्तिलाई टिकट दिइएको भन्दै आपत्ति जनाए । उनले पार्टीमा परामर्श नै नहुने गरेको र आफूविरुद्ध अनावश्यक भ्रम फैलाउने काम भएको बताएका छन् । आफूलाई प्रतिनिधिसभा सदस्यका लागि अछाम १ बाट टिकट नदिनु सुदूरपश्चिमका नेता र कार्यकर्ताको घोर अपमान भएको, पार्टीको हित र एकतामा आँच पुर्याएको रावलले बताए ।


रावलले अध्यक्ष ओलीको हत्या योजना बनाउने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग तालमेल गरिएको भन्दै आपत्ति जनाए । उनले प्रश्न गरे, ‘जसले राजबिराजमा केपी ओलीको हत्या प्रयास गरेका थिए उनैसँग तालमेल गरेर कहाँ पुगिन्छ ? यस्तो तालले कसरी समाजवाद आउँछ?’

उनले लोकतान्त्रिक समाजवादी पार्टीबाट आएका नेताहरुलाई एकै दिनमा संसदको टिकट दिएको भन्दै कडा आलोचना गरे । उनले कम्युनिष्ट र एमालेको सिद्धान्तविरोधीसँग चुनावी तालमेल गर गठबन्धन गरिएको भन्दै आलोचना गरेका छन् । उनले भने, ’होलिवानइन खुवाउने युनिफिकेसन चर्चका एजेन्ट एकनाथ ढकालहरुले टिकट पाउँदा हामीले किन नपाउने? यो कस्तो सिद्धान्त र विधिको निर्णय हो?’