लुम्बिनी एमालेका ३१ जनाको सामूहिक राजीनामा, निर्वाचनमा भूसाललाई समर्थन



तिलोत्तमा । नेकपा एमालेबाट दुई जना लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जना नेता-कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् ।

घनश्याम भूसाल निकट रुपन्देहीका ३१ जना नेताले नेकपा एमाले छाडेका हुन् । बुधबार विज्ञप्ति जारी गर्दै उनीहरुले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।


रुपन्देही १ अन्तर्गत रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष तथा एमाले प्रदेश कमिटी सदस्य सनोजकुमार यादव, एमाले प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका कमिटी सचिव इन्द्रजीत कुमार राय लगायतले पार्टी त्यागेको घोषणा गरेका हुन् ।

उनीहरुले भुसाल जस्तो बौद्धिक नेतालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा टिकट नदिएर अपमान गरेको टिप्पणी गरे । ओलीको तानाशाह प्रवृतिले गर्दा एमाले बिस्तारै कमजोर बन्दै गएको उनीहरुले बताए ।

साथै उनीहरूले प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही १ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका घनश्याम भूसाललाई सहयोग गर्ने घोषणा गरेका छन् ।