दोहोरो अंकले घट्यो नेप्से, काराेबार रकम ५५ करोडमा सीमित



काठमाडौँ । साताको तेस्रो कारोबार दिन (मंगलबार) सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार बजार परिसूचक नेप्से १६.०६ अंकले घटेर १८५५.१६ अंकमा बन्द भएको छ ।

दसैँ बिदापछि आइतबार खुलेको नेप्से ४४ अंकले वृद्धि भएर बन्द भएको थियो । तर सोमबार २७ अंकले गिरावट भएको नेप्से मंगलबार पनि घटेको हो । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.२१ अंकले गिरावट भएर ३६३.६३ अंकमा बन्द भएको छ ।


नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय २९ वटा कम्पनीको १७ लाख ६८ हजार कित्ता शेयर ५५ करोड २८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड १० लाख रुपैयाँको शेयर किनबेच भयो ।

मंगलबार व्यापार, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसूचकमा सामान्य वृद्धि हुँदा अन्य सबै उपसूचकमा गिरावट भएको छ । यता कारोबार रकम पनि घटेर ५५ करोडमा सीमित भएको छ ।