कांग्रेस नेता कोइरालाद्वारा मोरङ-६ बाट उम्मेदवारी दर्ता



विराटनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेपाली कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले मनोनयन दर्ता गराएका छन् ।

मोरङ निर्वाचन क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदका लागि उनले आइतबार अपराह्न ३ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगि मनोनयन दर्ता गराएका हुन् । कोइरालासँगै मोरङ निर्वाचन क्षेत्र नं ६ (ख) का लागि प्रदेशसभा सदस्यका लागि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पनि मनोनयन दर्ता गराएका छन् ।


कोइरालाले गठबन्धनको नेतृत्व गरेको कांग्रेसकै नेतृत्वमा बनेको सरकारले निर्वाचन पनि गर्ने भएकाले निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुने विश्वास व्यक्त गरे ।

यसैगरी, मोरङ निर्वाचन क्षेत्र नं ६ का लागि प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा (एमाले)का नेता लालबाबु पण्डितले पनि आफ्ना मनोनयन दर्ता गराएका छन् । साथै, मोरङ निर्वाचन क्षेत्र नं ५ (ख)बाट प्रदेशसभा सदस्य पदका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले मनोनयन दर्ता गराएका छन् ।