रेशम चौधरीले जेलभित्रैबाट निर्वाचन लड्ने, वारेसमार्फत उम्मेदवारी दर्ता



काठमाडाैँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बर्दिया निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उनले वारेसमार्फत आइतबार उम्मेदवारी दर्ता गराएका हुन् ।

श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नाममा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीबाट रेशम चुनाव लड्न लागेका हुन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बुबा लालवीरले रेशमको उम्मेदवारी दर्ता गराएका थिए ।


२०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा बहुमतले विजयी भएका उनलाई टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर गरेपछि हाल जेल जीवन बिताउँदै आएका छन् ।

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते भएको ‘टीकापुर घटना’मा आठ सुरक्षाकर्मीसहित एक नाबालकको हत्या भएको थियो । उक्त हत्याको अभियोग प्रमाणित भएपछि चौधरी डिल्लीबजारस्थित कारागारमा छन् ।