कर्णाली । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुर्खेत क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उपसभापति खड्काले निर्वाचन अधिकृतको कार्यालय मेहेलकुनामा प्रतिनिधि मुकरर (वारेसनामा) मार्फत उम्मेदवारी दर्ता गरेका हुन् ।
खड्काको प्रस्तावकमा उमेशकुमार पौडेल र समर्थकमा पदम खत्री रहेका छन् । निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालले पार्टीको टिकट निर्वाचन आयोग, काठमाडौँबाट इमेल तथा र अन्य प्रमाणपत्रहरू प्रतिनिधिमार्फत प्राप्त भएको जानकारी दिए । खड्का सत्तारुढ गठबन्धनको साझा उम्मेदवार हुनै ।
नेकपा (एमाले)बाट धु्रवकुमार शाही, राप्रपाबाट छत्रमणि थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोहम्मद अस्तक अलीले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् । सुर्खेत–१ को प्रदेशसभा (क) मा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रसका खड्कबहादुर पोखरेल र एमालेका ठम्मर विष्ट तथा प्रदेशसभा (ख) गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कृष्ण जिसी, एमालेका डण्डीप्रसाद शर्मासहित सात जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन अधिकृत खनालका अनुसार प्रदेशसभाको यो क्षेत्रमा एमालेका निवर्तमान प्रदेशसभा सदस्य खड्कबहादुर खत्रीको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । वीरेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुर्खेत क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनबाट कांगे्रसका हृदयराम थानी, एमालेका अमृतकुमार बिसीले मनोनयन दर्ता गरेका छन् ।
यस क्षेत्रको प्रदेशसभा (क) मा गठबन्धनबाट कांगे्रसका कालीप्रसाद शाक्य र एमालेका यामलाल कँडेल, (ख) मा गठबन्धनबाट माओवादी केन्द्रका बिन्दमान विष्ट र एमालेका ताराकेशर गौतम, नेकपा (एकीकृत समाजवादी)का मोहन बडुवालको उम्मेदवारी दर्ता भएको छ ।