कर्णाली प्रदेशमा मनोनयन दर्ताको तयारीमा दल



कर्णाली । कर्णाली प्रदेशमा क्रियाशील राजनीतिक दल पनि मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको तयारीमा जुटेका छन् । यसअघि काठमाडौँमा रहेका अधिकांश उम्मेदवार टिकट पाएसँगै जिल्ला फर्किसकेका छन् ।

सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालयले कर्णालीका १० वटै जिल्लामा निर्वाचन आयोगले तोकेको समय सीमाभित्र मनोनयन दर्ताका लागि तयारी पूरा भएको जनाएको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले वर्षात्का बीच निर्वाचन अधिकृतका कार्यालयले मनोनयन दर्ता प्रक्रियालाई व्यवस्थित गर्न जुटिसकेको बताए ।


आयोगले बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ । कर्णालीमा प्रतिनिधिसभाका १२ र प्रदेशसभाका २४ निर्वाचन क्षेत्र छन् । यस प्रदेशका सुर्खेत र दैलेखमा मात्र प्रतिनिधिसभाका दुई÷दई क्षेत्र छन् । प्रतिनिधिसभाका १२ वटै क्षेत्रमा यसअघि नै निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका छन् ।

कर्णालीमा सत्तारुढ गठबन्धनका मुख्य दल नेपाली कांगे्रस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) का साथै नेकपा (एमाले) र राप्रपाका उम्मेदवार मनोनयन दर्ता गर्ने तयारीमा छन् । सुर्खेत क्षेत्र नं १ मा कांगे्रसबाट केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का, एमालेबाट पूर्व सांसद ध्रुवकुमार शाही, क्षेत्र नं २ मा कांगे्रसबाट पार्टीका पूर्वकेन्द्रीय सदस्य हृदयराम थानी र एमालेका जिल्ला अध्यक्ष अमृतकुमार विसीले मनोनयन दर्ता गर्दै छन् ।

दैलेख–१ मा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापा, एमालेका जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा र राप्रपाका महामन्त्री कुन्तीकुमारी शाही तथा २ मा कांगे्रसका दिक्पाल शाही, एमालेका लक्ष्मीप्रसाद पोखेरलको मनोनयन दर्ता हुँदैछ ।

सल्यानमा गठबन्धनका तर्फबाट एीककृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला, एमालेका राजेन्द्रवीर राई, रुकुमपश्चिममा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्मा, एमालेका नन्दलाल शर्मा, जाजरकोटमा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, एमालेका निरज आचार्य, कालीकोटमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही र एमालेका नगिन्द्र शाही, हुम्लामा माओवादी केन्द्रका छिरिङ डम्डुल लामा (कार्चेन) एमालेका दल रावल, मुगुमा कांगे्रसका ऐनबहादुर शाही र एमालेका राजु कार्की, डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढा र एमालेका गणेशबहादुर शाहीले मनोनयन दर्ता गर्दै छन् ।

जुम्लामा माओवादी केन्द्रकोतर्फबाट मनऋषि धिताल र गोमा गौतम कुँवरमध्ये एक जनाको उम्मेदवारी दर्ता हुनेछ । जुम्लामा एमालेका रतननाथ योगी र राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीको पनि उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिकूल मौसमका कारण उपस्थित हुन नसक्ने उम्मेदवारका हकमा आधिकारिक प्रमाणपत्रसहित वारेसनामामार्फत मनोनयन दर्ता गर्न सकिनेछ ।