रुपन्देही-१ मा घनश्याम भुसालकाे स्वतन्त्र उम्मेदवारी, सत्ता गठबन्धनले समर्थन गर्ने



भैरहवा । नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले रुपन्देही निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेका छन् । आइतबार रुपन्देहीको मणिग्रामस्थित निवासमा पत्रकार सम्मेलन गर्दै उनले सत्ता गठबन्धनको समर्थनमा आफूले रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिन लागेको बताए ।

सत्ता गठबन्धनमा सिट बाँडफाँडमा रुपन्देही-१ को प्रतिनिधिसभा सदस्य सिट नेकपा माओवादी केन्द्रको भागमा परेको थियो । तर, माओवादी केन्द्रले उक्त सिटमा आफ्नो उम्मेदवारी छाडेर स्वतन्त्र उम्मेदवारको रुपमा ‍भुसाललाई दिएको छ ।


उनले आफ्नो स्वतन्त्र उम्मेदवारीमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एसको समर्थन रहेको जनाए। ‘पार्टी छाडेपछि प्रचण्ड जीले आफ्नोबाट चुनाव लड्न भन्नुभयो, तर म स्वतन्त्र भएरै चुनाव लड्न चाहेको बताएँ’ भुसालले भने,’त्यसपछि प्रचण्डजीले गठबन्धनमा प्रधानमन्त्री र माधव नेपालसँग कुरा गर्नुपर्छ भन्नुभयो र मध्यराति साढे १२ बजे उहाँहरुले मलाई समर्थन जनाउनुभयो ।’

नेता भुसालले चुनाव चिन्ह भने तय भएनसकेको बताए । माओवादी अध्यक्ष प्रचण्डले आफूलाई सघाएर उम्मेदवारीमा समर्थन गरेकोप्रति उनले प्रचण्डलाई धन्यबाद पनि दिए । तत्कालका लागि स्वतन्त्र नै भएर निर्वाचनमा लाग्ने बताउँदै नेता भुसालले आफू बाम एकताको प्रयासमा लागि रहेको बताए ।

नेता भुसालले एमाले अध्यक्ष केपी ओलीमा ब्यक्तिबाद हाबी भएको र पार्टीको नीति, सिद्धान्त अनुसार ओली चल्न नसकेको आरोप लगाए । पार्टीमा नीति अनुसार नेतृत्व चल्न नसकेकाले आफूले पार्टी परित्याग गरेको उनले  उल्लेख गरे ।

‘ओली कसरी पार्टी कब्जा गरेका छन् भने एक जनाको मात्रको नाम, एक जनाको मात्र पहिचान, एक जनाको मात्र इज्जत, अरुको छैन ?’ उनले भने, ‘यी लगायत थुप्रै कारणले पार्टीबाट अलग हुनुबाहेक विकल्प थिएन ।’