सभामुख सापकोटाले आगामी निर्वाचनमा उम्मेदवारी नदिने



काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी नदिने भएका छन् । शनिबार सभामुख सापकोटाले सिंहदरबारस्थित संसद सचिवालयमा पत्रकार सम्मेलन गरी आगामी प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका हुन् । उनले निर्वाचनमा युवालाई सहयोग गर्ने बताएका छन् ।

उनलाई माओवादी केन्द्रले सिन्धुपाल्चोक १ बाट सिफारिस गरेको थियो । उनले आगामी दिनमा सक्रिय राजनीतिमा रहने तर यो पटकको चुनाव नलड्ने बताए । सापकोटा २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधान सभामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए भने २०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।