तनहुँ । तनहुँको भिमादस्थित श्रृगपथ सडक खण्ड भासिँदा तनहुँसहित चार जिल्लाको आवागमनमा ठप्प भएको छ ।
गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाले जिल्लाको घिरिङ्ग गाउँपालिका-५ देउराली नजिकको सडक भासिँदा तनहुँको ऋषिङ, घिरिङसहित स्याङ्जा, पाल्पा र नवलपरासी गुड्ने सवारीसाधन रोकिएको हो ।
पहिरा अगाडिको भाग पहिरिएकाले दुईपाङ्ग्रे सवारीबाहेक ठूला सवारी गुड्न नसक्दा चाडपर्वका समयमा टीका लगाउन आवतजावत गर्ने मानिसहरूले सास्ती भोग्नुपरेको जनाइएको छ ।
गाडी नचलेपछि मानिसहरू लामो दूरी पैदल हिँडेर भएर पनि आफन्त, इष्टमित्र र मान्यजनको हातको टीका थाप्न जान बाध्य भएको उनले बताए । कि त त पहरा पट्टिको भित्ता काट्नु पर्छ कि त तलबाट पर्खाल उठाएर सडक सञ्चालन गर्न सकिने हुँदा तत्कालका लागि पहरा काट्न छिटो हुने देखिएको उनले जानकारी दिए ।
उक्त सडकबाहेक वैकल्पिक मार्गका रुपमा रहेको भिमाद, ऋषिङपाटन हुँदै ऋषिङ भञ्ज्याङदेखि घिरिङ देउराली जान सकिने भए पनि ठाउँठाउँमा पहिरा खसेर अवरोध भएकाले सम्भव नदेखिएको बताइएको छ ।
यात्रुहरूको समस्यालाई दृष्टिगत गरी तत्कालका लागि यताको गाडी यतै र उताको गाडी उतै व्यवस्था मिलाई यात्रुलाई गन्तव्यसम्म पुर्याउने योजना बनाइएको घिरिङ गाउँपालिकाका अध्यक्ष हेमबहादुर थापाले जानकारी दिए । उक्त सडक भएर सवारीसाधन गुड्ने चारवटै पालिकासँग समन्वय गरी जति सक्दो चाँडो दीर्घकालीन रुपमा सञ्चालन गर्न पहल भइरहेको उनको भनाइ छ ।