कैलाली–५ मा कांग्रेस नेता पुस्करनाथ ओझाद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा



धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा पूर्वराज्यमन्त्री पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी ओझाले संघीय सांसदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

मंसिर ४ गते हुने चुनावमा कैलाली ५ का मतदाताको स्वाभिमान र आत्मसम्मानको रक्षा गर्न चुनावमा उठ्न लागेको ओझाले बताएका छन्।


उनले भने,’कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा मेरो उम्मेदवारी रहन्छ । यहाँका मतदाताका माझ साझा उम्मेदवार भएर भोट माग्न जाँदैछु, मलाई विश्वास छ मतदाताले मलाई जिताउने छन्।’

निर्दलीय व्यवस्थाका विरुद्ध विगतमा आन्दोलन गरेको स्मरण गर्दै उनले अहिले निर्दलीय उम्मेदवार भएर चुनाव लड्नु पर्ने परिस्थिति बनेको बताए । ओझाले गलत प्रवृत्तिकाविरुद्ध आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताए। नेपाली काँग्रसका नेतासमेत रहेका ओझाले आफू दुई वर्षदेखि स्वतन्त्र भएको बताएका छन् ।

उनले आफू बहुदलका लागि विगतमा लडेको जेल बसेको भए पनि नियतिले दल बिहीन बनाएकाले मंसिर ४ को चुनावले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताको सामुन्ने जाने अवसर प्रदान गरेको बताएका छन्। ओझाले सर्वपक्षिय उम्मेदवार बनेर भोट माग्ने र मतदाताले चुनाव जिताउने विश्वास व्यक्त गरेका छन्।