लुम्बिनी । दसैँमा दुर्गा पूजाको रौनक जताततै छ । विभिन्न स्थानमा ठूलाठूला पण्डाल सजाइएका छन् । घटस्थापनाको दिनदेखि यहाँ नौ रातसम्म जाग्राम बसेर देवी दुर्गा भगवतीको पूजा आराधना गरिँदैछ । पण्डालमा भगवती दुर्गाले महिषासुरको बध गर्दै गरेका ठूला मूर्तिसहित विभिन्न देवी देवताका स्वरूपहरु राखिएका छन् ।
केही वर्ष पहिलासम्म सहरबजारमा मात्र देखिने दूर्गामूर्तिका पण्डालहरू अहिले गाउँ/देहातसम्म छ्यापछ्याप्ती सजाइएका छन् । दसैँको बेला माटो आदिबाट बनाइएका दुर्गा भगवतीको मूर्ति सजाएर पूजा गर्ने प्रचलन जताततै बढेको छ । मूर्ति बनाउने र पण्डालमा लगेर सजाउनेसम्मको काम मूर्तिकार आफैँले गर्छन ।
घटस्थापनाका दिन दुर्गा भगवतीको मूर्ति स्थापना गरेर सप्तमीमा उहाँको आँखाबाट पट्टी खोल्ने काम हुन्छ । महिषासुरलाई सप्तमीको दिन दुर्गा भवानीले मारेको हुनाले सो दिन मूर्तिको आँखा खोल्ने परम्परा छ । त्यसपछि दशमीको दिन दुर्गा भवानीको मूर्तिलाई नजिकैको नदीमा लगेर विसर्जन गरिन्छ ।
हिन्दू धर्मावलम्बीले आफ्नो परिवारसँग बसेर भव्यरूपमा मनाइने दसैँका बेला मूर्तिकारहरु पण्डालहरुको शोभा बढाउनेतर्फ जुटेर । अर्डरअनुसारको मूर्ति बनाएर त्यसमा रङ भरेर पण्डालमा लगेर ‘फिटिङ’ गरिदिनेसम्मको काम उनहरुले गर्छन् । धेरैजसोले ती सबै काम आफ्नै ठाउँमा गरी बिक्री गर्छन ।
मूर्तिहरु खासगरेर जेठ महिना वा त्यस अगावैबाट दुर्गापूजाका लागि बुकिङ सुरू हुन्छ । असार साउनदेखि मूर्ति बनाउनका लागि बिस्तारै कच्चापदार्थ जस्तै माटो, बाँस, पराल, गहना, कपडा, अस्त्रशस्त्र लगायतका सजावटी सामानको किनमेल शुरू हुन्छ । त्यपछि मूर्तिलाई आकार दिने, रङरोगन र सजाउने काम हुन्छ ।
कोटहीमाई गाउँपालिका–३ मर्यादपुर, रुपन्देही बस्ने मूर्तिकार रामकेवल भर भन्छन्, मलाई यस वर्ष दश थान दूर्गामूर्तिका लागि कन्फर्म अर्डर मिलेको थियो । उहाँहरू ठूला मूर्ति किन्ने, पण्डाल सजाउने र पूजा गर्ने सोख राख्नुहुन्छ । त्यही भएर पहिलै अर्डर गर्नुहुन्छ । बाँकी मूर्तिहरू दसैँका बेला नै बुकिङ र बिक्री हुने गर्दछन् ।”
विगत २५ वर्षदेखि मर्चवारको मर्यादपुरमा माटाका मूर्ति बनाएको रामकेवल भरले दसैँमा दुर्गा भगवती र तिहारमा लक्ष्मीका मूर्ति बनाउँदै आएका छन् । पहिला केही स्थानमा मात्रै सीमित पूजा अहिले धेरै स्थानमा फैलिएको उनको भनाइ छ । दुर्गामूर्ति मात्रै बिक्री गरेर कम्तीमा रु डेढ लाख कमाउने गरेको उनले बताए ।
“दसैँका बेला नवरात्रभर दुर्गा भगवतीको नौ रूपमा पूजा हुन्छ । पण्डालमा भने, ‘दुर्गाको महिषासुर मर्दिनी स्वरूपको पूजा हुन्छ । हातमा त्रिशूल, शङ्ख, चक्र र गदा समाउँदै गरेकी देवी दुर्गाको चरणमा महिषासुर रहेको हुन्छ । देवीको वाहन सिंहका साथै सरस्वती, लक्ष्मी, गणेश र कार्तिकेयको मूर्ति पनि पण्डालमा लगाइएका हुन्छन्’ उनले भने ।
भारत कोलकातामा चार वर्ष लगाएर मूर्ति बनाउने काम सिक्नुभएका रामकेवलले मूर्ति बिक्री गरेर सातजनाको परिवार राम्रैसँग पालेको बताए। उनको २२ वर्षीय छोरा राजेश्वर राजभरले पनि काम सिकेका छ भने उनसँग अन्य छ जना कालिगडले मूर्ति बनाउने काम गर्छन ।
रामकेवलले छोरा राजेश्वरलाई मात्र होइन अन्य धेरै कालिगड तयार पारेका छन् । नजिकै कोटहीमाइ–४ तुनिहवामा नवदुर्गा एवं लक्ष्मी मूर्ति कला केन्द्रका सञ्चालक धर्मेन्द्र, राम मोहन, दशरथ, गौतम, बगाहे र अनिल हरजिन पनि उनकै चेला हुन् ।
बीस वर्षसम्म मूर्ति बनाउने काम रामकेवलबाटै मर्यादपुरमा सिक्नुभएका धर्मेन्द्र हरिजन विगत तीन वर्षदेखि नवदुर्गा एवं लक्ष्मी मूर्ति कला केन्द्रका मालिक भएका छन् । यस वर्ष १० हजारदेखि २० हजारसम्म प्रतिसेट मूर्ति बिक्री भएको उनले बताए ।
पूजाका लागि आवश्यक मूर्तिहरुको मूल्य भने फरकफरक हुन्छ । डिजाइन, तौल र आकार हेरेर १० देखि ५० हजार वा सो भन्दा बढीका मूर्तिहरु बन्ने गरेका छन् । रामकेवल र धर्मेन्द्रका लागि यो मौसमी काम हो । यो पैसाले मात्रै घर खर्च चल्दैन । उनहरु बाँकी समय सिमेन्टको हात्ती, घोडा, बाघलगायतका मूर्तिहरू बनाउने गरेको बताए ।
राम केवल भने, ‘हामीले बिना अर्डरको पनि मूर्ति बनाउने गर्दछौँ किनभने हामीलाई हाम्रो कालिगडलाई पैसा दिनुपर्छ जो हामीसँग वर्षौंदेखि कामगर्दै आइरहनुभएको छ, उहाँहरू हामीमाथिनै पूर्णरूपले निर्भर हुनुहुन्छ ।’
रामकेवल र धर्मेन्द्रलगायत धेरै बेरोजगारहरुका लागि एउटा अवसर बनेको छ, यो मूर्ति बनाउने कला । यसलाई संरक्षण र प्रवद्र्धन गर्नसके राम्रो आम्दानीको स्रोेत हुनसक्ने भन्दै लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुदमन्त्री बसीउद्दीन खाँले दक्षताका लागि तालिमको व्यवस्था हुनुपर्ने बताए ।