दसैँसँग जोडिएका संस्कृति लोप हुँदै गएकोमा चिन्ता



नुवाकोट । नुवाकोट उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित ३८ वर्ष अगाडिसम्म दुप्चेश्वर गाउँपालिका–७ शिखरवेसीमा बस्थे । उनलाई दसैँको समयमा ब्याट्रीको कालोले घरको झ्याल ढोका सिगारेको सम्झना ताजै छ । रातो र कमेरो माटोले लिपेको घर गाजल लगाएकी महिला जस्तो लाग्थ्यो । थातथलो छाडेर सदरमुकाम झरेपछि त्यस्ता दृश्य हेर्ने रहरमा मात्रै सीमित बनेको छ ।

उनले भने, ‘विशेष गरी विनाशकारी भूकम्प २०७२ ले ढुङ्गा माटोको घरलाई विस्थापित गराइ दियो । कङ्क्रीटका घर धेरै बने । रङरोगनले घर सजिएका छन् । दसैँको समयमा रातो र कमेरो माटोले सजिएका घर खोज्न गाउँ नै पस्नुपर्छ । त्यो पनि न्यून भेटिन्छ ।’


दसैँ भन्ने वित्तिकै पिङको सम्झना आउँछ । पिङमा पनि रोटे, जाते र लिङ्गे । विशेष गरी लिङ्गे पिङ वरपिपलको चौतारामा राखिन्न्थ्यो । पिङ खेल्न वल्लो–पल्लो गाउँका बालबालिकादेखि तन्नेरी आउँथे । पालो पाउनै गाह्रो हुन्थ्यो । तर अहिले सडक निर्माणको नाममा चौतारा मासिनुको साथै पिङ लोप हुने अवस्थामा पुगिसकेको गुनासो छ, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलयका प्रमुख हरिप्रसाद गुरागाईंको ।

अधिकांश गाउँलाई सडक सञ्जालले छोएको छ । सडक निर्माणको क्रममा सार्वजनिक स्थानमा रहेका चौतारा मासिएका छन् । पिङ राख्ने परम्परा लोप हुने अवस्थामा पुगिसकेको छ’, दुप्चेश्वर गाउँपालिका–५ का बासिन्दा रहेका गुरागाईंले भने, ‘श्रमदानमार्फत सामूहिक रुपमा सामाजिक काम गर्ने प्रचलन न्यून बन्दै गएको छ । सरकारमार्फत बजेट आओस् भन्ने अपेक्षा गरिन्छ । तर हामीले हाम्रो गाउँ पुग्ने सडकको स्तरोन्नति गर्र्न स्थानीयबाटै श्रमदान हुन्छ, चन्दा सङ्कलन हुन्छ । चार पाङ्ग्रे सवारीसाधन भएकाले पाँच हजार, दुई पाङ्ग्रे हुनेले दुई हजार र नहुनेले कम्तीमा पनि एक हजार रकम सङ्कलन गरेर सडक मर्मतको काम गर्छौँ ।’

दशैलाई चिउरा चाहिन्छ भनेर पाखो बारीमा घैयाँ धान लगाउँने प्रचलन समेत रहेको थियो । हरहर बास्नादार चिउराले दशैलाई नै सुगन्धित बनाउथ्यो । तर अहिले न त घैयाँ धानको खेती गरिन्छ, नत बास्नादार चिउराको प्रयोग नै ।

पढाई तथा रोजगारीको सिलसिलामा गाउँ छाडेकाहरु दशैको आगमनसँगै आफ्नो थातथलो फर्कने पक्ष अहिले कायमै छ । ‘अघिपछि आफ्नै काममा व्यस्त भइन्छ । आफ्नो एकल परिवार जहाँ जसरी रहेपनि दसैँमा आफ्नै पुख्र्योली थलो जाने गरेका छौँ’, स्याङ्जा घर भएका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले भने, ‘दसैँ र गाउँ एकअर्का बीचको परिपुरक जस्तै लाग्छ । खाने र खेल्नेभन्दा पनि गाउँमा केही रचनात्मक क्रियाकलाप गर्नलाई अवसरको रुपमा दसैँलाई लिनु आवश्यक छ ।’