नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक चन्द्रागिरि हिल्स रिसोर्टमा



८ भदाै । पार्टी दर्ता प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक चन्द्रागिरिमा बसेको छ । सोमबारदेखि सुरू भएको बैठक बुधबारसम्म चल्नेछ।

बैठकमा पार्टी विधान र राजनीतिक प्रतिवेदन तथा घोषणा पत्रलगायत विषयमा छलफल भइरहेका छन्। अध्यक्ष माधवकुमार नेपालसहित उनी पक्षका सांसद र केन्द्रीय सदस्यहरू बैठकमा सहभागी छन्।


अध्यक्ष नेपालसहित नेताहरू सोमबार ३२ जना संघीय सांसदसहित करिव ६० जना नेताहरु सोमबार बेलुकी चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका थिए। नयाँ पार्टीको घोषणापत्र, अन्तरिम विधान २०७८, राजनीतिक प्रस्ताव र पार्टी नियमावली लगायतका चारवटा प्रस्तावलाई अन्तिम रुप दिनेगरी छलफल गर्नचन्द्रागिरीमा आवासीय बैठक राखिएको हाे ।

निर्वाचन आयोगले सनाखतलाई बुधबार बोलाएकोमा अध्यक्ष नेपालसहित उनी पक्षका नेताहरू बुधबार केन्द्रीय कमिटी बैठक सकेर त्यहीँबाट निर्वाचन आयोग जाने कार्यक्रम रहेकाे छ ।

सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएसँगै एमाले वरिष्ठ नेता नेपालले नयाँ पार्टी गठन थालेका थिए।नेता नेपाललाई नयाँ पार्टी गठनमा साथ नदिएका १० स्थायी कमिटी सदस्यहरू भने आज एमालेले डाकेको स्थायी कमिटी बैठकमा जाने र १० बुँदे सहमति कार्यान्वयनबारे छलफल गर्ने तयारीमा छन्।