एमालेले बन्दसूची हेरफेर गर्ने, अन्तिम सूची १५ गते बुझाउने



काठमाडाैँ । नेकपा एमालेले समानुपातिक निर्वाचन तर्फको असोज ३ मा बुझाएको बन्दसूची हेरफेर गर्ने भएको छ । नेताहरुसँगको परामर्शपछि अन्तिम बन्दसूची असोज १५ गते बुझाउने भएको हाे ।

बिहीबार मध्यराति सम्पन्न एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले अन्तिम बन्दसूची १५ गते बुझाउने बताएका हुन् । 


‘प्रारम्भिक लिष्टमा हामीले अध्यक्षज्युलाई आवश्यक थपघट गर्नसक्ने अधिकार प्रत्यायोजन गरेको हो । उम्मेदवारको प्राथमिकता पनि तोकेर निर्वाचन विभागमार्फत केन्द्रीय हेडक्वार्टरले अन्तिम निर्णय गर्छ । त्यसको अन्तिम टुंगोमा हामी पुग्दैछौ’, गुरुङको भने ।

समानुपातिक तर्फको बन्दसूचीको विषयलाई लिएर विवाद उत्पन्न भएपछि एमालेले बिहीबार साँझ सचिवालय बैठक बोलाएको थियो । बैठकले बन्दसूची सच्याउने निर्णय गरेको छ । तर, यसपटक पनि यसको अन्तिम निर्णय गर्ने अधिकार भने अध्यक्ष ओलीलाई नै दिएको छ ।