मनास्लुमा बेपत्ता भएकी विख्यात स्की पर्वतारोही नेल्सन मृत फेला



काठमाडौँ । विश्वविख्यात स्की पर्वतारोही हिलारी नेल्सन मृत फेला परेकी छन् । मनास्लु हिमालमा सोमबारदेखि बेपत्ता भएकी नेल्सनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । जिम मोरिसनसहित मनास्लु हिमालमा स्की गर्न गएकी नेल्सनको शव बुधबार भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले नेल्सनको शव सामागाउँ ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । नेल्सनसँगै स्की गर्न मनास्लु पुगेका मोरिसन भने सकुशल रहेका छन् । नेल्सन मनाङतर्फ पर्ने भीमथाङमा हराएकी थिइन् ।


नेल्सनले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन् । ८ हजार मिटरमाथिको दुईवटा हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा रहेको छ ।

अमेरिकाको सियाटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेसनल जोग्रोफिकले साहसी खेलाडीको सूचीमा राखेको थियो । सन् २००५ मा उनले चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन् ।