दलित र ब्राम्हणको जमरा एकै स्थानमा



नुवाकाेट । नुवाकोटको बेलकोटमा दलित र ब्राम्हण समुदायको एकैस्थानमा जमरा राखिएको छ । बेलकोटगढी नपा–१०, बेलकोटस्थित निरञ्जना भगवतीको मन्दिरमा रहेको दसैँ घरमा आज सामूहिक जमरा राखिएको हो ।

यो वर्ष १२ घर दलित समुदायको सहित एक सय ८१ परिवारले दसैँ घरमा सामूहिक जमरा राखेको मन्दिरमा पुजारी नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो । सामूहिक जमरा दलित, ब्राम्हण, क्षेत्र, नेवार, मगरले राखेका हुन् । मन्दिरमा गाउँमा दलितसहित सबै समुदायको सामूहिक जमरा राख्ने चलन धेरै वर्ष पुरानो भएको मन्दिरका उपासे मानबहादुर रानाले बताए ।


“यो परम्परा पृथ्वीनारायाण शाहकै पालादेखिको चलन भएको बुढापाकाले बताउने गरेका छन्”, रानाले भने, “दलित र गैरदलितको जमरा एकै स्थानमा राख्ने चलनले अहिलेसम्म निरन्तरता पाइरहेको छ ।” दसैँ घरको वैधिक विधिपूर्वक दसैँ दिन पूजा हुने गरेको छ ।

सामूहिक जमरा राखेकाले विजया दशमीको दिन मन्दिरमा जमरा पूजा गरी घरघरमा लैजाने चलन रहेको निरञ्जना भगवती गढी क्षेत्र विकास संरक्षण समितिका पूर्वअध्यक्ष कालीबहादुर तिवारीले बताए । मन्दिरको पुजारी पौडेल खलकका र उपासे मगर समुदायका रहेका छन् ।