अफगानिस्तानको पाठ्यक्रम मुस्लिम कानुन अनुसार पुनरावलोकन गरिने



अफगानिस्तानको पाठ्यक्रमलाई मुस्लिम कानुन अनुसार परिमार्जन गरिने भएको छ । अफगानिस्तानमा तालिवान सरकार गठन भएपछि मुस्लिम कानुनलाई प्राथमिकता दिदै आएकाले पाठ्यक्रम पनि त्यही अनुसार परिमार्जन गर्न लागिएको हो ।

पाठ्यक्रम परिमार्जन गर्दा मुस्लिम संस्कृति, परम्परा, मूल्य मान्यतालाई सकेसम्म धेरै समेट्ने र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउने उनीहरूको भनाई छ । तालिवान सरकारको उच्च शिक्षा मन्त्रालयका प्रवक्ता अहमद ताक्विले ३५ वटा पाठ्यक्रम परिमार्जनको अन्तिम चरणमा पुगेको जानकारी दिए ।


अरु केही पाठ्यक्रम परिमार्जनको गृहकार्य भइरहेको उनले बताए । परिमार्जनको अन्तिम चरणमा रहेका ३५ मध्ये २० ओटा स्नातक तहका र १५ ओटा स्नातकोत्तर तहका रहेका छन् । अफगानिस्तानमा अहिले १६५ ओटा फरक फरक शैक्षिक पाठ्यक्रम देशभरी लागू अवस्थामा रहेको पनि उनले जानकारी दिए ।

अफगानिस्तानमा तालिवान सरकार गठन भएपछि छात्रालाई विद्यालयमा पठन पाठनका लागि प्रतिवन्ध लगाइएको छ । उनीहरूलाई रोजगारी गर्न समेत निषेध गरिएको छ ।

त्यसैगरी महिलाहरूलाई घर बाहिर जानु परेमा बुर्का लगाएर र कम्तीमा एक जना आफन्तलाई सँगै लिएर मात्रै जान आदेश दिइएको छ । छात्रालाई पठन पाठन गर्न नदिने र रोजगारी गर्न नपाउने आदेशका विरुद्ध निरन्तर आन्दोलन भइरहेपनि सरकारले वेवास्ता गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय समुदायबाट समेत यस बारेमा दवाव आउँदा छात्रालाई पढ्न र रोजगारी गर्न पाउने व्यवस्था गरिने आश्वासन तालिवान सरकारले दिने गरेपनि व्यवहारमा अस्वीकार गर्दै आएको छ ।