दिपायल । हिन्दूहरुको महान् चाड बडा दशैँ तथा दीपावलीको पावन अवसरमा आजदेखि डोटीमा सुदूरपश्चिम प्रदेशस्तरीय ‘खप्तड-शैलेश्वरी गोल्डकप २०७९’ प्रतियोगिता सुरु भएको छ । भैरवप्रसाद गण सिलगढी, दिपायल सिलगढी नगरपालिका-६ र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय ‘खप्तड-शैलेश्वरी गोल्डकप २०७९’ फुटबल प्रतियोगिता सुरु गरिएको हो ।
उद्घाटन कार्यक्रममा प्रमुख अथिति दिपायल सिलगढी नगर पालिकाका नगरप्रमुख बाजि सिं खड्काले नगरपालिकाले खेलकुदको क्षेत्रमा लगानी लगाउँदै खेल क्षेत्रको विकास गर्ने बताए । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले खेलकुद क्षेत्रबाट मित्रतासँगै देशको चिनारी हुने भएकाले खेल क्षेत्रको विकास हुन आवश्यक रहेको बताए ।
प्रतियोगितामा कैलाली, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, भैरबप्रसाद गण र उद्योग वाणिज्य सङ्घ सहित सातवटा टोली सहभागी रहेका छन् । खप्तड-शैलेश्वरी गोल्डकप २०७९’ मा प्रथम हुने टोलीलाई एक लाख, द्वितीय हुनेलाई ५० हजारसहित ट्रफी प्रमाणपत्र प्रदान गरिने भैरवप्रसाद गणका गणपति जनमतबहादुर कार्की बताए ।
उनले प्रदेशस्तरीय फुटबल खेलले जिल्लाको कला, संस्कृतिको पहिचान तथा फुटबल खेलको विकासमा महत्वपूर्ण भूमिका र स्थानीयले सञ्चालन गरेका होमस्टेको प्रवर्द्धनका साथै व्यापार व्यवसायमा ठुलो टेवा पुग्ने बताए ।