काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र आफू एक अर्काको पुरक भएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भट्टराईसँग समाजवादको गोरेटो नयाँ पार्नको लागि सहकार्य गरेको बताएका हुन् ।
‘बाबुराम–प्रचण्ड मिल्दा १ प्लस १ दुई मात्र हुने होइन, यसको महत्त्व ठुलो हुन्छ,’ उनले थपे, ‘हामी एक अर्काका पूरक हौँ । हामी परिवर्तनका वाहक हौँ । अब हामीहरू समाजवादको नयाँ मोडल दिन्छौँ ।’ संविधानको घोषणापछि आफू र बाबुराम भट्टराईले एमालेसँग एकता र नयाँ शक्तिको स्थापना गर्ने दुश्साहासिक प्रयोग गरेको बताउँदै तीन दुवै प्रयोग असफल भएको स्वीकार गरे ।
उनले माओवादीहरू अलग हुँदा जनयुद्धको उपलब्धि नै खतरामा परेको बताए । प्रचण्डले बाबुराम भट्टराईसँगको सहकार्य धेरै लामो हुने बताए । उनले आफूहरुको सहकार्य चुनावसम्मका लागि मात्र नभएको बताए ।
‘यी प्रयोग गर्दा हाम्रो उद्देश्य जति सुकै राम्रो र ठुलो भए पनि सफल हुन सकेन । घटनाक्रमले के साबित गर्यो भने हामी अलग–अलग प्रयोग गर्न हिँड्दा माओवादी जनयुद्ध, त्यसको ऐतिहासिक भूमिका, त्यसले स्थापित गरेका मूल्य मान्यताहरू, त्यसले ल्याएका परिवर्तनहरू धरापमा पर्ने खतरा देखाप-यो । प्रतिक्रियावादी, बर्जुवाहरुले माओवादी आन्दोलनका नेता–कार्यकर्ताहरूलाई अपमानित गर्ने र यसका उपलब्धिहरू उल्ट्याउन अनेक खालाका कसरतहरू गर्ने बीचमा देखा परे ।’
उनले भने, ‘यो निर्णय चुनावका लागि मात्र गरिएको निर्णय होइन, त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौं ।’
अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् । उनले संविधान घोषणापछिको आफू र बाबुरामले अलग अलग प्रयोग गरेको भएपनि सफल नभएपछि फेरि एकै ठाउँमा जुटेको बताए ।
उनले भने,‘गतसाल प्रतिनिधिसभा विघटनपछि संविधानमाथिको खतरा थियो। त्यसको प्रतिवाद गरेका थियौँ। अब संघ र प्रदेशको निर्वाचनमा जाँदैछौँ। निर्वाचन सफल हुनु नै ठूलो कुरा हो। निर्वाचन सफल हुँदा संविधान कार्यान्वयन हुन्छ । कुन पार्टीले कति सिट जित्छ त्यसले ठूलो अर्थ राख्दैन।’उनले १० बर्षको जनयुद्धले ठूलो उथलपुथल ल्याएको दाबी गरे।
उनले अब समाजवादको लागि नयाँ खालको जनयुद्ध आवश्यक ठानेको बताए । उनले भने, ‘समाजवादका लागि नयाँ खालको जनयुद्ध आवश्यक छ । पुरानो जनयुद्ध त सम्भव पनि छैन । समाजवादको २१ औं शताब्दीको नयाँ मोडेल हामीले पत्ता लगाउनुपर्नेछ ।’ उनले फेरि २५ वर्षअघिको अवस्थालाई सोच्दै नयाँ खालको जनयुद्ध गर्ने संकल्प गरेपछि एकैठाउँमा केन्द्रित भएको उनको भनाइ थियो ।