कृषिमा विद्यार्थीको आकर्षण बढ्दो



कुश्मा । पर्वतको फलेवास नगरपालिका-४ स्थित मुडिकुवाको एक विद्यालयमा प्राविधिक धारअन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढेको छ । माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यावसायिक माध्यमिक विद्यालयमा व्यावसायिक कृषितर्फउन्मुख क्षेत्रमा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थीको यस विषयमा रुचि देखिएको छ । 

विद्यालयले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई कृषिमा आधारित शिक्षा प्रदान गर्दै आएको छ । शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त यस विद्यालयका विद्यार्थीले पढाई सँगसँगै आम्दानी पनि गर्दै आएका छन् ।  


विद्यालयले २० रोपनी जग्गा भाडामा लिएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिँदै आएको छ । विद्यार्थीले बारीमा लगाएका कृषिउपज स्थानीय बजारमै खपत हुने गरेका छन् । बिक्रीबाट आएको नाफा ७५ प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने र २५ प्रतिशत चाहिँ विद्यालयले राख्ने गरेको छ । 

‘हामीले विद्यालयबाट विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौँ’, शिक्षक अजय ज्ञवालीले भने, ‘विद्यार्थीले खेती उब्जाउबाट बिक्री गरेको रकमको २५ प्रतिशत हामी राख्छौँ, किनभने फेरि अर्को पटक पनि लगानी गर्नुपर्ने हुन्छ ।’

विद्यार्थीहरूको धेरै समय कक्षाकोठामा भन्दा खेतबारीमै बित्ने गरेको छ । उनीहरूले विद्यालयमा अध्ययन गरेका कुरा घरमा गएर अभिभावकलाई सिकाउँछन् । परम्परागत खेती गर्दै आएका अभिभावक पनि आफ्ना छोराछोरीले सिकेको ज्ञान खेतबारीमा लगानी गर्न सकेकामा खुसी छन् ।  

‘घरका सबैले पुरानै तरिकाबाट कृषि गर्दै आएका थियौँ, खेतबारीमा दिनै फाल्दासमेत तरकारी खेतीबाट कुनै पनि आम्दानी हुन सकेको थिएन’, अभिभावक केशव तिवारीले भने, ‘उही निर्वाहमुखी खेती भइरहेको थियो, एक वर्षअघिदेखि छोरीले विद्यालयमा सिकेअनुसारले खेती गर्न थालेका छौँ, उत्पादन पनि बढेको छ, धेरथोर बजारमा पनि बिक्री गर्न सकेका छौँ ।’

विद्यार्थी गाउँमै बाली विज्ञान पढ्न पाएकामा खुसी छन् । प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्ने विश्वास विद्यार्थीमा देखिन्छ । ‘मेरो सानैदेखि कृषि रुचिको विषय हो’, कक्षा १० अध्ययनरत विद्यार्थी रञ्जिता भुजेलले भने, ‘सानैदेखि घरमा बुवाआमासँगै खेतबारीमा जाने उनीहरूलाई सघाउने गर्थे । सहरमा महँगो शुल्क तिरेर पढ्नुपर्ने विषय गाउँमै निःशुल्क पढ्न पाएकामा खुसी छु ।’ 

अर्का विद्यार्थी प्रदीप भुसालले कृषि पढेपछि जागिर पाउन मुस्किल नहुने र  आफ्नै जग्गामा व्यावसायिक खेती गर्न पनि सकिने भएकाले बाली विज्ञान पढेको बताए। ‘धेरै पालिकामा कृषि पढेका जनशक्ति चाहिने रहेछ’, उनले भने, ‘अन्य विषय पढेर शैक्षिक बेरोजगार बन्नुभन्दा कृषि पढेर आफ्नै घरगाउँमा नै आत्मर्निभर भएर काम गर्न ठीक लाग्यो ।’

विसं २०१७ मा स्थापना भएको विद्यालयले २०७० सालदेखि प्राविधिकतर्फ बाली विज्ञान विषय पढाउन सुरु गरेको थियो । सुरुआतका दिनमा अभिभावक र विद्यार्थीलाई बाली विज्ञानका बारेमा बुझाउन ज्यादै मुस्किल भएको विद्यालयको अनुभव छ । 

‘पहिलो वर्ष कृषि पढ्न चाहने विद्यार्थी पाउन नै मुस्किल भयो’, विद्यालयका प्रधानाध्यापक रामप्रसाद रिजालले भने, ‘हामीले दुई-तीन वर्ष चाहिँ कृषि विषयको महत्वका बारेमा बुझाउन घरदैलो गर्नुपर्‍यो, कहिलेकाहीँ त प्राविधिक शिक्षा पढाई सुरु गरेर साँच्चीकै गल्ती  गर्‍यौँ कि भन्ने पनि लाग्यो, अहिले भने अभिभावक आफैँ छोराछोरी भर्नाका लागि विद्यालय आउने गर्नुभएको छ ।’

विद्यालयले प्राविधिक तथा व्यावसायिक पढाइ सञ्चालनका लागि खर्च जुटाउन महायज्ञ गरेको थियो । अहिले विद्यालयसँग आफ्नै भवन, प्रयोगशाला, खेतीका लागि जमिन र छात्राबास पनि रहेको छ ।

प्रधानमन्त्री कृषि आधुनिक परियोजना कार्यान्वयन इकाई धानजोन बागलुङ र विद्यालयको साझेदारीमा च्याउ टनेल, माछापोखरी, प्लास्टिक पोखरी निर्माणलगायतका संरचनासमेत विद्यालय परिसरमा बनेका छन् ।

‘टाढाबाट आउने विद्यार्थीका लागि बस्ने समस्यालाई मध्यनजर गरेर आफ्नै होस्टेल निर्माण गर्‍यौँ’, प्रअ रिजालले भने, ‘चमेनागृह पनि सञ्चालनमा ल्याएका छौँ । होस्टेलमा बस्ने विद्यार्थीले साँझ र बिहान खानाको मासिक रु तीन हजार ५०० तिरे मात्र पुग्छ, बस्नका लागि कुनै शुल्क लाग्दैन ।’

नेपाल सरकारले यस विद्यालयलाई नमूना विद्यालयका रुपमा राखेको छ । ‘नमूना विद्यालयमा परेपछि सरकारबाट उपलब्ध हुने सेवासुविधाका कारण सहज भएको छ’, उनले भने। ‘अहिले सरकारी अनुदानमा नौ बालीविज्ञान पढाउने शिक्षक छन् । भौतिक संरचना, प्रयोगशालादेखि धेरै कुरामा आत्मनिर्भर बनेका छौँ ।’

यस विद्यालयमा पर्वत र बागलुङका विद्यार्थी पढ्न आउँछन् । विद्यालयस्तरको पढाइ सकेपछि कोही पनि विद्यार्थी बेरोजगार बस्न नपरेको विद्यालयका शिक्षक केदार सापकोटाको अनुभव छ । उनका अनुसार अहिलेसम्म यस विद्यालयबाट दुई सय बढी विद्यार्थीले अध्ययन पूरा गरिसकेका छन् ।

 विद्यालयले भाडामा लिएको २० रोपनी जग्गामा यहाँ अध्ययनरत विद्यार्थीले च्याउ, बेमौसमी तरकारी, टमाटर, माछापालन, मौरीपालन, धान खेतीलगायतका उपज फलाउने गरेका छन् । गत वर्ष १२ कक्षा सकेका विद्यार्थीले एक वर्ष ‘ओजिटी’ गरेबापत सरकारले १२ हजार र आफैँले लगाएको उत्पादन बिक्री गरेबापत सात हजार रुपैयाँका दरले जम्मा १९ हजार रुपैयाँ लान सफल भएका थिए ।