थप २ हजार ७५ जनामा सङ्क्रमण पुष्टी, ३० काे मृत्यु



५ भदाै । गत २४ घण्टामा २ हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नयाँ बिरामी थपिएसँगै देशभर सङ्क्रमितको कुल सङ्ख्या ८ लाख २५ हजार ७२२ पुगेको छ ।

थप ७ हजार ७०३ जनाको पिसिआर परीक्षण तथा ५ हजार ३७२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट १ हजार ४२४ तथा एन्टिजेनबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।


पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३८२ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हालसम्म ६ लाख ९५ हजार ९२५ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् ।नेपालमा सङ्क्रमण निकाे हुने दर ९३.३ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३२१ रहेको छ ।

बितेका २४ घण्टमा देशभर ६३ हजार ९६३ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर ७१८ सङ्क्रमितको सघन उपचारकक्षमा तथा १६६ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै पछिल्लाे २४ घण्टामा थप ३० सङ्क्रमितको मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ४८५ पुगेको मन्त्रालयले जनाएको छ ।

उपत्यकामा ६६७ सङ्क्रमित थपिए काठमाडौँ उपत्यकामा पछिल्लो समय ६६७ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४८३, ललितपुरमा १०३ तथा भक्तपुरमा ८१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६६३, भक्तपुरमा एक हजार ४८१ तथा ललितपुरमा दुई हजार २९२ रहेको छ ।