छाडा चौपाया व्यवस्थापनमा जुटे कञ्चनपुरका स्थानीय तह



कञ्चनपुर । विकराल समस्याका रुपमा रहेको छाडा चौपाया व्यवस्थापनका लागि कञ्चनपुरका स्थानीय तह जुटेका छन् । सदरमुकाम भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकाले चौपाया व्यवस्थापनका लागि संयुक्त रुपमा काम गरिरहेका छन् । छाडा चौपाया व्यवस्थापनका लागि भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकाले संयुक्त कार्यदल बनाएको छ ।

भीमदत्त नगरपालिका–३ का अध्यक्ष गगनसिंह धामीको नेतृत्वमा बनाइएको १३ सदस्यीय कार्यदलले छाडा चौपाया व्यवस्थापनका लागि कानुनी मस्यौदा तयार गरिरहेको भीमदत्त नगरका प्रवक्ता महेन्द्र खड्काले बताए । “बेदकोटको चौपाया यता आउने, यताको उता जाने गर्दछन्, एउटै पालिकाले गरेर भएन”, उनले भने, “त्यसैले संयुक्त रुपमा छाडा चौपाया व्यवस्थापनको काम गर्दैछौँ, कार्यदलले प्रतिवेदन दिएपछि पालिकाबीच सम्झौता हुनेछ ।”


भीमदत्त नगरपालिकासँग सहकार्य गरेर छाडा चौपाया व्यवस्थापन गरिन लागिएको बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले बताए । “कार्यदलले छाडा चौपाया कसरी व्यवस्थापन गर्ने ?, कति कुन पालिकाले खर्च गर्नेलगायत विषयमा कार्यविधि तयार गरिरहेको छ”, उनले भने, “त्यसैअनुसार हामी अगाडि बढ्छौँ ।” छाडा चौपायालाई बेदकोट नगरपालिका–४ बैतडामा व्यवस्थापन गर्ने बारेमा सहमति जुटेको उनले बताए ।

पूर्वपश्चिम राजमार्गमा पर्ने भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिकामा छाडा चौपायाको समस्या छ । छाडा चौपाया व्यवस्थापनमा बजेट खर्च भए पनि अझै समस्या समाधान हुन सकेको छैन । छाडा चौपायाले सडक दुर्घटना बढ्नुको साथै किसानको खेतीपातीमा क्षति पु¥याउँदै आएका छन् । शुक्लाफाँटा नगरपालिकाका छाडा चौपायालाई वडा नम्बर ९ मा बनाइएको गौशालामा राख्ने गरिएको नगरप्रमुख रणबहादुर महराले बताए । “नगरमा चौपाया व्यवस्था निरन्तर भइरहेको छ”, उनले भने, “वडा नम्बर ९ मा बनाइएको गौशालामा छाडा चौपायालाई राख्ने गरेका छौँ ।”

कृष्णपुर नगरपालिकाका छाडा चौपायालाई नगरका पाँच ठाउँमा व्यवस्थित गर्ने कार्य भइरहेको नगर प्रमुख हेमराज ओझाले बताताए । छाडा चौपाया व्यवस्थापनको कार्य भइरहेकाले यसपटकको लक्ष्मी पूजासम्म नगरको छाडा चौपायाको समस्या समाधान हुने उनको दाबी छ । “लक्ष्मी पूजासम्म सडकमा एउटा पनि छाडा चौपाया देखिँदैनन्, वडा नम्बर १, २, ४, ५ र ७ मा व्यवस्थापन गर्न काम भइरहेको छ”, उनले भने ।

नगरमा छाडा चौपाया र पालिएका चौपाया छुट्याउनका लागि ट्याग लगाउने कार्य भइरहेको छ । वडा नम्बर ४ मा केही पैसा दिएर ब्याएको गाई लैजाने र थारो छोडेर जाने व्यवस्था मिलाएको उनले बताए । उनले भने, “यो अन्यत्र पनि विस्तार गर्दै जानेछौँ ।”