‘वन्यजन्तु र मानवबीचको द्वन्द्व घटाउन काम भइरहेको छ’- मन्त्री यादव



चितवन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले वन्यजन्तु संरक्षणमा समुदायको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ । चितवन राष्ट्रिय निकुञ्जको ५०औँ स्थापना दिवसको स्वर्ण महोत्सव तथा राष्ट्रिय संरक्षण दिवस, २०७९ को अवसरमा शुक्रबार कसरामा आयोजित कार्यक्रममा उनले वन र वन्यजन्तु संरक्षणमा ठूलो चुनौती रहेको भन्दै यसमा साथ र सहयोग समुदायको हुनुपर्ने बताए ।

उनले वन्यजन्तु वनमा र मानव समुदायमा रहनुपर्ने बताउँदै भने, “तपाईंहरूले वन्यजन्तुको संरक्षण गर्नुहोस् । तपाईंहरुको संरक्षण सरकारले गर्छ ।” समुदायका लागि जीविकोपार्जनका कार्यक्रम मन्त्रालयले गर्ने उनको भनाइ थियो । निकुञ्ज ऐन, २०२९ ले समस्या सिर्जना गरेको भन्दै उनले भने, “यो ऐन मानिसको आवश्यकताअनुसार परिवर्तन हुन्छ ।” यस ऐनका कारण पनि मानव र जनावरबीच द्वन्द्व बढ्दै गएको उनले बताए ।


वन्यजन्तु र मानवबीचको द्वन्द्व घटाउन सरकारले काम सुरु गरेको उनले बताए । वन्यजन्तु र मानवबीचको द्वन्द्व घटाउन नयाँ उपकरण जडान गरी वन्यजन्तु बस्तीमा पस्न रोक्ने तथा अन्य गतिविधि निकुञ्जले गर्ने उनको भनाइ थियो । भारतमा सफल परीक्षण भइसकेको एनाइडर प्रविधिको यहाँ पनि प्रयोग गर्न लागिएको उनले जानकारी दिए । उनले भने, “भारतको झारखण्ड र उत्तर प्रदेशमा जनावर र मानवबीचको द्वन्द्व कम गर्न प्रयोग भएको उपकरण यहाँ पनि प्रयोग गर्ने तयारीमा छौँ ।” यसका लागि सरकारले रु दुई करोड बजेट विनियोजन गरेको उनले बताए ।

उनले थपे, “अहिले बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ ।” यसले जनावरलाई बस्ती पस्न रोक्न मद्दत पुग्ने उनले जानकारी दिए । वातावरणको संरक्षण गर्न नसक्दा अहिले जलवायु परिवर्तनको समस्या बढ्दै गएको उनको भनाइ थियो । उनले भने, “वातावरण संरक्षण गर्न नसक्दा जलवायु परिवर्तनको असर नेपालमा देखापर्न थालेको छ ।” जलवायु परिवर्तनको विषयमा विज्ञहरुसँग परामर्श गर्ने काम भइरहेको उनले बताए । उनले भने, “नेपालमा पनि ‘क्लाइमेट इमर्जेन्सी’ लगाउनुपर्ने समय आइसकेको छ । विज्ञहरुको राय आएपछि निर्णय लिन्छौँ ।”