एकथरी मान्छे प्रचण्ड सकियोस् भनेर रातदिन धुप हालिरहेका छन् : प्रचण्ड



काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकथरी मान्छेहरुले प्रचण्ड सिद्धियोस् भनेर रातदिन बसेर धुप हाल्ने गरेको बताएका छन् । 

अखिल नेपाल किसान महाससंघ (क्रान्तिकारी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।परिवर्तनको नेतृत्व गर्ने अवसर पाएकाे आफूमाथि निरन्तर प्रहार भएको भन्दै प्रचण्डले आपत्तिसमेत जनाए ।


‘एकथरी मान्छेहरु बसेर रातदिन धुप हालेर बस्छन् प्रचण्ड सिद्धियोस् भनेर’, प्रचण्डले भने, ‘यो देशको अस्थिरताको कारक प्रचण्ड नै हो भनेर निकै प्रचार गरेका छन् । यो माओवादीको वा प्रचण्डको व्यक्तिगत कुरा होइन । यो नेपाल  राष्ट्र र जनताको त्याग, तपस्या र बलिदानबाट  प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र अन्तर्गत भइराखेको छ ।’

प्रचण्डले भने ‘चाहे युद्धकालमा होस्, चाहे शान्ति कालमा होस्, संविधान निर्माण र संविधान कार्यन्वयनको बेला होस्, जसले नेतृत्वदायी भूमिका खेल्यो त्यसैमाथि किन प्रहार भएको छ ?’ प्रचण्डले भने,‘हामीमाथि हुँदै नभएको झूटा आरोपहरू किन लगाएका छन ?काल्पनिक कपोकल्पित आरोप किन लगाइन्छ ?’ 

आफू केही समय अघि भारत भ्रमणमा जाँदा समेत त्यस्तै झूटा र कपोकल्पित प्रचार गरिएको प्रचण्डले बताए ।  ‘म केही समय अघि भारत गएको थिएँ । त्यहाँ हुँदै नभएको भेट्दै नभेटेको मान्छे भेट्यो भन्दै भन्दै प्रचार गरियो । यति बुँदे सहमति भारतमा प्रचण्डले ग¥यो भन्ने जस्ता नितान्त झूटा  प्रचार गरियो । यस्तै प्रचार लगातार गर्न थालिएको छ ’ प्रचण्डले भने ।