घोसखोलाका विद्यार्थीलाई विद्यालय पुग्नै समस्या



घोराही । दाङ राप्ती गाउँपालिका–९ घोसखोलाका वीरेन्द्र गाहा जङ्गल र पहाडै पहाडको तीनघण्टा बाटो हिँडेर विद्यालय पुग्छन । गाउँमा विद्यालय नभएपछि उनी बङ्गलाचुली गाउँपालिका–३ भेडाबारीस्थित मुलाबारीमा रहेको माध्यामिक विद्यालयमा पुग्छन । उनलाई जस्तै बङ्गलाचुली–५ रोकिनेडाँडाकी जानकी गाहालाई पनि आधारभूत तहको शिक्षा लिन दैनिक चार घण्टा हिँड्नुपर्ने बाध्यता छ । कक्षा ९ मा अध्ययनरत उनलाई विद्यालय पुग्न करिब दुई घण्टा हिँड्नुपर्छ ।

उनका अनुसार शिशु कक्षादेखि १२ सम्म करिब छ सय ७० विद्यार्थीले अध्ययन गर्ने सो विद्यालयमा आधाभन्दा बढी विद्यार्थी दैनिक एक घण्टाभन्दा बढी हिँडेर आउँदछन् । प्रधानाध्यापक खगराज लम्सालले विद्यालयमा बङ्गलाचुली गाउँपालिका–३, ४ र ८ , घोराही उपमहानगरपालिका–१ र राप्ती गाउँपालिका–९ का बालबालिका पढ्न आउने गरेका जानकारी दिए ।


टाढाबाट आउने विद्यार्थी ढिला गरी विद्यालय आउने, थकाइ लाग्ने छिट्टै भोकाउने समस्याले पठनपाठनमा समस्या हुने गरेको शिक्षक बताउँछन् । यस्तै राजपुर गाउँपालिका– ३ करङगा निवासी तारा पुन पनि दुई घण्टा बढी हिँडेर खरदरीयामा रहेको विद्यालयमा पढन् जाने गर्छन ।

घर नजिकैको विद्यालय कक्षा पाँचसम्म मात्रै भएका कारण उनी जस्तै धेरै विद्यार्थीलाई टाढा रहेको विद्यालयबाट शिक्षा लिन सकस हुने गरेको छ । जङ्गलको बाटो भएका कारण विद्यालय जाने समयमा साथी भएमात्रै जान सकिने ताराको भनाइ छ । हिउँदमा विद्यार्थी घर आइनपुग्दै झमक्क साँझ पर्ने तथा बर्खामा पहिरो, खोला बाढीका कारण अभिभावकको मनमा आफ्ना बालबालिका घर आइनपुगुञ्जेलसम्म डर रहिरहने गरेको अभिभावक बताउँछन् ।

विभिन्न समस्या हुँदाहुँदै पनि नजिकै विद्यालय नहुँदा टाढाका विद्यालयमा बालबालिकालाई घण्टाँै हिँडाएर पठाउनुपर्ने बाध्यता रहेको छ । सरकारले बर्सेनि सुलभ र सहज तरिकाबाट बालबालिकालाई शिक्षा उपलब्ध गराउन विभिन्न कार्यक्रम तथा नारा तय गर्ने गरेको छ । तर ग्रामीण क्षेत्रका बालबालिकाका लागि ती नारा नारामै सीमित बन्ने गरेका छन् । उनीहरूका लागि आधारभूत तहको शिक्षा आर्जनका लागि घण्टौँ हिँड्नुपर्ने बाध्यता छ ।