नागरिकता विधेयक प्रमाणीकरण गर्ने समयसीमा आज सकिँदै



काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण गर्ने समयसीमा आज सकिँदै छ ।

संघीय संसद्को दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको नागरिकता विधेयकको भविष्य के हुने भन्ने अझै निश्चित भइसकेको छैन ।


विधेयक संसदले पास गरेर राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको आज १५ दिन भएको हो । गत २० भदौमा नागरिकता विधेयक शीतल निवास पठाइएको थियो । विधानअनुसार राष्ट्रपतिले आजसम्ममा नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्छ ।

राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक साउन २९ गते फिर्ता गरिदिएकी थिइन् ।

राष्ट्रपति भण्डारीले भने आफूले केही विषयमा सच्याउनुपर्ने सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएकाे विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाले भने एक अक्षर पनि संशोधन नगरी हुबहु पारित गरी फेरि प्रमाणीकरणका लागि पठाएकाे छ ।