आजीवन बहन गरेको उत्तरदायित्व’ प्रति कृतज्ञता व्यक्त गर्दै महारानी एलिजाबेथको अन्तिम संस्कार सम्पन्न



बेलायतको राजधानी लण्डनमा रहेको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबेमा बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कारसँग सम्बन्धित कायहर्रू सम्पन्न भएका छन् । त्यहाँ अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय राष्ट्रपति द्रोपदी मुर्मूसहित सयौँ गन्यमान्य विदेशी पाहुनाहरू उपस्थित भएका थिए ।

द डिन अफ वेस्टमिन्स्टरले ड्याभिड होइलले उक्त समारोहको नेतृत्व गर्ने क्रममा ‘आजीवन बहन गरेको उत्तरदायित्व’ प्रति कृतज्ञता व्यक्त गरेका थिए । राजा चाल्र्स तृतीयले मलिन भावमा आफ्नी आमाको शवपेटिका पछाडि रहेर वेस्टमिन्स्टर हलदेखि एबेसम्मको शवयात्राको नेतृत्व गर्नुभएको थियो भने राजपरिवारका अन्य सदस्यले उहाँलाई साथ दिएका थिए ।


डीन होइलले समारोह सुरु गर्ने क्रममा एलिजाबेथ द्वितीयाले ‘महारानी र राष्ट्रमण्डलको प्रमुखका रूपमा कैयौँ वर्षसम्म उच्च जिम्मेवारीका लागि अटल प्रतिबद्धता’ प्रस्तुत गरेको बताएका थिए । उनले भने, “सम्मानसाथ हामीले उहाँको जीवनभरको जिम्मेवारी बोध र आफ्ना नागरिकप्रतिको प्रतिबद्धताको स्मरण गर्छौँ ।”

महारानीको शव पेटिका वेस्टमिन्स्टर एबेमा प्रवेश गर्दा भजन मण्डलीले सङ्गीतबद्ध ढङ्गले श्लोकहरू गाएका थिए जुन परम्परा १८औँ शताब्दीयताका राजकीय अन्तिम संस्कारका कार्यमा चलेको छ । त्यस्तै, प्रधानमन्त्री लिज ट्रसले धार्मिक ग्रन्थका श्लोकहरू पाठ गरेका थिए ।

एक वरिष्ठ धर्मगुरु (आर्चविशप अफ क्यान्टरबरी) जस्टिन वेल्बीले उपदेश दिँदै र गायिका डेम भेरा लिनलाई उद्धृत गर्दै हामी फेरी भेट्नेछौँ भनेका थिए । उक्त वाक्यांश कोभिड महामारी सुरु भएपछि राष्ट्रलाई गरेका दुर्लभ सम्बोधनमा महारानीले पनि प्रयोग गरेका थिए ।

आर्चविशप वेल्बीले भने, “यस दिनको शोक– दिवङ्गत महारानीका परिवारले मात्र अनुभव गरेको छैन पूरा देश, राष्ट्रमण्डल र विश्वभर महसुस भएको छ । उनको दीर्घ जीवन र प्रेममय सेवा अब हामीबाट अन्त्य भएको छ ।”

उक्त समारोहको अन्त्यतिर देशभर दुई मिनेटको मौन धारण गरिनुअघि द लास्ट पोस्ट धुन बजाइएको थियो । शवयात्रा मार्गमा जम्मा भएका मानिसहरू अन्तिम संस्कार समारोहका लागि मौन भएका थिए ।